पशुपतिमा तीजको हर्षोल्लास : भक्तजनको घुइँचो (तस्वीरहरू)

पशुपतिनाथमा यस्तो छ ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्था


२०८२ भदौ १० मंगलबार ०८:२५ बजे

काठमाडौं । हरितालिका अर्थात तीज पर्व आज हर्षोल्लासपूर्वक मनाइँदैछ । तीज मनाउन  मंगलबार बिहान उज्यालो नहुँदैदेखि काठमाडौँको पशुपतिसहित देशैभरिका शिवालयहरूमा व्रतालु महिलाको घुइँचो लागेको छ ।

पशुपतिनाथमा सहज ढङ्गले पूजाअर्चनाको लागि व्यव्था मिलाइएको शपुपति क्षेत्र विकास कोषले जनाएको छ । यसका लागि  पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले  जानकारी दिए । 

केही भक्तजन भने मंगलबार बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने जोशीले बताए । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटिएका छन् । 

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । 

कोषका सूचना अधिकारी अनिता भट्टले मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिइन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन् । तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन् । 

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा विवाहित महिलालाई पारिवारिक सुख, शान्ति र कल्याण मिल्ने र अविवाहित युवतीले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।  

तीजको अवसरमा सरकारले आज महिलाहरुलाई बिदा दिएको छ ।   सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिको गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

पशुपतिनाथ यस्तो छ ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्था
 तीजका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई दृष्टिगत गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रभावित क्षेत्रमा ६१६ जनशक्ति परिचालित गरेको छ ।

उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार सार्वजनिक सडका अवरुद्ध नहुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको छ।
पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनका सवारी साधनको पार्किङ तीलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरीपारि कोरिडोर सडकमा मिलाइएको अधिकारीले बताए । बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरु, सुरक्षाकर्मिका पार्किङ हुने व्यवस्था मिलाइएको छ ।

पशुपतिक्षेत्र विकास कोषको कार्यालय र अमालकोट कचहरीका कर्मचारी र पर्व व्यवस्थापनसँग सम्बन्धित सवारी साधन भण्डारखाल जंगलमा पार्किङ गर्न दिइने भएको छ । सरकारी संथान र विशिष्ट व्यक्तिका सवारी साधनलाई पनि त्यहीँ पार्किङ व्यवस्था मिलाएको अधिकारीले बताए ।

यद्यपि मूल सडकको सवारी आवागमन नियमित रूपमा चल्ने छ । दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न समस्या भएमात्र गौशाला क्षेत्रमा सवारी आवागमन निषेध हुने उनले बताए ।

तर, ठूला र मालबाहक सवारी साधन भने नियन्त्रण गरिने भएको छ । तीनकुनेबाट सिनामंगल, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनलाई निषेध गरिएको छ ।

वागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भए चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको एसएसपी अधिकारीले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७