एनपीएलमा डीआरएस प्रविधि प्रयोग हुने


२०८३ कार्तिक ४ मंगलबार १०:४७ बजे

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत आगामी संस्करणमा डीआरएस प्रविधि प्रयोग गरिने जानकारी दिएको हो।

क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा डीआरएस भित्र्याउने तयारी भइरहेको बताएका थिए। त्यसका लागि दुई कम्पनीसँग प्रविधिको परीक्षण गरिएको र त्यसको शुद्धता मूल्याङ्कनपछि अन्तिम निर्णय गरिने उनको भनाइ थियो।

डीआरएस क्रिकेटमा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। यसले खेलाडीलाई अम्पायरको निर्णय गलत भएको लागेमा निर्धारित नियमअनुसार चुनौती दिन अवसर दिन्छ। त्यसपछि उपलब्ध प्रविधि र प्रमाणका आधारमा निर्णय पुनरावलोकन गरिन्छ।

क्यानका अनुसार एनपीएलमा एलबीडब्लु (खुट्टामा बल लागेर विकेट जोगिएको वा नजोगिएको अवस्था) को निर्णय पुनरावलोकन गर्न पूर्ण त्रिआयामिक बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ। त्यस्तै, रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णय पनि पुनरावलोकन गर्न सकिनेछ।

यसका अतिरिक्त कृत्रिम बुद्धिमत्तामा आधारित ब्याटमा बलको किनारा लागेको पहिचान गर्ने प्रविधि पनि प्रयोग हुनेछ। बलको उचाइका आधारमा वाइडको निर्णय, छक्काको दूरी तथा उचाइ मापन र अन्य बलिङ विश्लेषणसम्बन्धी सुविधा पनि उपलब्ध हुने क्यानले जनाएको छ।

डीआरएसको प्रयोगले अम्पायरका निर्णयमा हुने सम्भावित त्रुटि कम गर्न र खेललाई थप निष्पक्ष तथा प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७