सरकारी कर्मचारीहरुले काम गरेनन्, लोकसेवा रटेर बसे : मन्त्री न्यौपाने


२०८२ भदौ ६ शुक्रबार १५:४७ बजे

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरुले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको टिप्पणी गरेकी छन् । आज (शुक्रबार) विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरुमा काम गर्ने मनोवृत्ति नदेखिएको बताएकी हुन् । उनले सरकारले सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताइन् । 

उनकाअनुसार अहिले पनि सरकारी कर्मचारीहरु काम गरेर बस्दैनन् । उनीहरु आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोकसेवाको तयारी स्वरुप पढाइमा रटान लगाइरहेका हुन्छन् । यसले सरकारले चाहेअनुसारको नतिजा दिन सकेको छैन् ।

संघीय मामिला मन्त्रालयले संघीय निजामती विधेयक ल्याउँदा नासुमा खरिदार खुला प्रतिष्पर्धाबाट गर्ने प्रस्ताव गरेको थियो । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समितिले नासु खुलाबाट नगर्ने प्रस्ताव पास गरेको छ ।

प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा सम्बन्धी विधेयकअनुसार लोकसेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ । राष्ट्रिय सभामा पुगेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धि व्यवस्था छ । खरिदार तहमा आन्तरिक बढुवामार्फत मात्र नायबसुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ ।

खरिदार तहमा खुला प्रतिष्पर्धा हुनेछन् भने खरिदार तहमा कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ । विधेयकले सहसचिव र नायव सुब्बा पदमा खुला प्रतिष्पर्धा गर्न नपाइने व्यवस्था गरेको छ । उपसचिव, शाखा अधिकृत र सहायक (खरिदार) मा मात्रै खुला प्रतिष्पर्धाबाट सेवा प्रवेश पाइनेछ । शाखा अधिकृतमा ७० बाट घटाएर ६० प्रतिशत खुला परीक्षाबाट पदपूर्ति गरिने व्यवस्था राखिएको छ । 

यसका अलवा उपसचिवमा १० प्रतिशत खुला विज्ञापनद्वारा पदपूर्ति गरिने व्यवस्था राखिएको छ । यस्तै पास भएको विद्येयकमा अब उपसचिवमा भिड्न शाखा अधिकृत भएको ७ वर्ष पूरा भएको हुनु पर्दछ । 

यसअघि पाँच वर्ष पूरा भएपछि उपसचिवमा प्रतिष्पर्धा गर्न पाइने प्रावधान राखिएको थियो । विधेयकमा सहसचिवमा खुल्ला प्रतिस्पर्धा हटाइएको छ । अहिलेसम्म खुला प्रतिष्पर्धाबाट सहसचिव लड्न पाउने व्यवस्था रहेकोमा यो विधेयक पास भएपछि खुलामा सहसचिव लड्न पाइने छैन ।

संघीय मामिला मन्त्रालयका सचिव रविलाल पन्थले विधेयकमा खरिदार तहमा पसेका सबैलाई बढुवा गर्नेगरी नयाँ प्रावधान आएको बताए । उनले नासु खुल्ला प्रतिष्पर्धाबाट छनोट गर्ने प्रस्तावलाई प्रतिनिधि सभाले पनि स्वीकारेकाले अब ब्याक हुनसक्ने अवस्था नरहेको प्रष्ट पारे ।

समिति बैठकमा सांसदहरुले कर्मचारीको वृद्धि विकास रोक्न नहुने बताए । नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले कर्मचारीले पढ्छन्, काम गर्दैनन् भनेर उनीहरुको वृद्धिविकास रोक्नु ठिक नभएको बताइन् ।

पञ्चायतकाल नभई अहिले गणतन्त्र भएकाले वृद्धिविकासलाई कसैले रोक्न नहुने उनको तर्क छ । नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले पनि खुला प्रतिष्पर्धालाई रोक्न नहुने बताए । उनकाअनुसार कर्मचारीले काम गर्दैनन् भनेर उनीहरुको वृद्धि विकासलाई नै असर गर्नेगरी कानून बनाइनु हुँदैन । बैठकमा बोल्ने अन्य सांसदहरुले समेत विभेद गर्न नहुने पक्षमा जोड दिएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७