ओलीलाई प्रकाशको उत्तर : आफ्नै अध्यक्षले ‘हारेकाहरु’ भन्दा मुटु छियाछिया हुँदोरहेछ


२०८२ श्रावण ५ सोमबार २२:०४ बजे

काठमाडौं :नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले आफ्नै पार्टी अध्यक्षले ‘हारेकाहरु’ भनेर टिप्पणी गर्दा मुटु छियाछिया भएको बताएका छन् । 

नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले सोमबार केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीसँग ‘हारेका’ र अन्तुष्टसँग देखिएको भन्दै आलोचना गरेपछि पौडेलले उत्तर फर्काएका हुन् । आइतबार पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले मुख्यालय च्यासल पुगेको बेला पौडेल सहित युवा संघको अध्यक्षमा पराजित सुमन पुरी लगायतका नेताहरु उपस्थित भएका थिए । 

अध्यक्ष ओलीले पौडेल, पुरी लगायतका नेताहरुको उपस्थीति बारेमा टिप्पणी गरेका थिए । ओलीले बैठकमा भनेका थिए, ‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु’ भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो । तर, उहाँ आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए ।’

पार्टी अध्यक्षबाट हारेकाहरु पार्टी कार्यालयमा देखिएको भन्दै टिप्पणी गरिनु दुखत भएको पौडेलको लामो टिप्पणी लेखेका छन् । सडकमा अध्यक्ष ओलीको लागि लड्दा पाएको चोट भन्दा ओलीले सोमबार गरेको टिप्पणीको शब्द कैयौ गुणा गहिरो भएको उनले लेखेका छन् । 

अध्यक्ष ओलीसँगको पुरानो तस्बिर सेयर गर्दै पौडेलले लेखेका छन्, ‘७ मतले हार्नु मेरो भाग्य होला, त्यो अंकगणितलाई मैले सहर्ष स्वीकार गरेँ । तर जब लोकतन्त्रको त्यही मन्दिरमा, आफ्नै अभिभावकबाट, आफ्नै नेताबाट ‘असन्तुष्ट’ र ‘हारेकाहरू’ भन्ने शब्दले प्रहार हुन्छ, तब मन रुँदो रहेछ अध्यक्ष ज्यू, छातीभित्र कतै गहिरो चोट लाग्दो रहेछ । मुटु छियाछिया हुँदो रहेछ । हिजो सडकमा तपाईंको लागि लड्दा पाएको हरेक चोटभन्दा यो शब्दको चोट कैयौं गुणा गहिरो हुँदोरहेछ ।’

पौडेलले लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध भएको हो ? भनेर प्रश्न पनि गरेका छन् । उनले सोधेका छन्, ‘आज म सोध्न चाहन्छु, अध्यक्ष ज्यू, के लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध हो ? के कार्यकर्ताको माझमा जानु पाप हो ?

पौडेलले पार्टीलााई अप्ठ्यारो पर्दा आफू जहिल्यै फ्रन्टलाइनमा उभिएको स्मरण गरेका छन् । उनले भनेका छन्, ‘जब तपाईं चारैतिरबाट घेराबन्दी भयो, त्यतिबेला धेरै ठूला नेताहरू मौन थिए, सुरक्षित घरभित्र बसेका थिए। तर म, तपाईंको एउटा सामान्य सिपाही, तपाईंको रक्षाको लागि सडकमा थिएँ। गण्डकी प्रदेशको विद्यार्थी भेलाको अध्यक्षता गर्दै म तपाईंको पक्षमा गर्जिरहेको थिएँ। त्यो मेरो रगतको नाता थियो, विचारको समर्पण थियो ।  र आज । आज त्यही लामो यात्रा र त्यागपछि, मैले पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास गरेँ । मैले कुनै विद्रोह गरिनँ, कुनै गुट बनाइँन । केवल तपाईंले नै बनाउनुभएको विधानमा टेकेर, कार्यकर्ताको माझमा जाने आँट गरेँ । मैले प्रतिस्पर्धा रोजेँ ।’

पौडेलले अध्यक्ष ओलीलाई सिमित घेरा भ्रममा पारेको पनि दाबी गरेका छन् । लेखेका छन्, ‘हामीलाई थाहा छ, तपाईंलाई एउटा सिमित घेराले भ्रममा पारेको छ। तपाईंको वरिपरि एउटा यस्तो पर्खाल खडा गरिएको छ, जसले तपाईंलाई आम कार्यकर्ताको साँचो आवाज सुन्नबाट रोकिरहेको छ। त्यो घेराले तपाईंलाई एउटा यस्तो कथा सुनाउँछ, जहाँ प्रश्न सोध्नेहरू शत्रु हुन्, प्रतिस्पर्धा गर्नेहरू विद्रोही हुन् र मौन बस्नेहरू मात्र भक्त हुन्। उनीहरू तपाईं र हामीजस्ता कार्यकर्ताको बीचमा एउटा खाडल खनेर आफ्नो स्वार्थको रोटी सेकिरहेका छन्।’

पौडेलले आफ्नो लडाईं ओली विरुद्ध नभएको पनि प्रष्ट पारेका छन् । भनेका छन्,‘तपाईं हाम्रो टावर नेता हो । हाम्रो अभिभावक हो । हाम्रो लडाईं तपाईंको विरुद्धमा होइन, बरु तपाईंलाई त्यो भ्रमको पर्खालबाट बाहिर निकाल्नको लागि हो। हाम्रो संघर्ष तपाईंलाई कमजोर बनाउन होइन, तपाईंलाई कार्यकर्ताको शक्तिसँग जोडेर अझ शक्तिशाली बनाउनको लागि हो।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७