मन्दिर परिसरमै चक्कु प्रहार, एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न आएका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । आज (सोमबार) दिउँसो मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना बढी तीर्थयात्री बसेको बेला विवाद भइ झडप भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।
घटनास्थल पुगेका जिल्ला प्रहरी सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार झगडाका क्रममा चक्कु प्रहार हुँदा एक तीर्थयात्रीको मृत्यु भएको जानकारी दिए । मृतकको पहिचान खुलिसकेको छैन ।
शव पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ । तीर्थयात्रीहरूमध्ये केहीले कराउँदै झगडा गरेको स्थानीयले जनाएका छन् । स्थानीय आइरहेको थाहा पाएपछि चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेका थिए । प्रहरीले हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले बताएको छ ।