एमाले केन्द्रीय सदस्यहरुको प्रश्न : किन हटाइयो उमेर हद ?


२०८२ श्रावण ५ सोमबार २१:१९ बजे

काठमाडौं : नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्यहरूले विधान महाधिवेशनमा राखिएको  ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाएकोप्रति आपत्ती प्रकट गरेका छन् ।  सोमबार सुरु केन्द्रीय कमिटी बैठकमा एमाले नेताहरुले विगतमा नेतृत्वको बहिर्गमनको विधि निर्माण भए पनि अहिले व्यक्तिलाई हेरेर विधि बदलिएको भन्दै आपत्ती जनाएका हुन् ।

सोमबारदेखि सुरु केन्द्रीय कमिटीको बैठकमा नेताहरू रचना खड्का, दीवाकर देवकोटा, अरविन्द सिंह लगायतले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाइएकोप्रति प्रश्न गरेका हुन् । उनीहरूले उमेर हद, वरिष्ठ उपाध्यक्ष पद राख्दा र हटाउँदा लिइएका आधार नै व्यक्ति केन्द्रित भएको भन्दै अब त्यस्तो हुन नहुने बताएका हुन् । उनीहरूले पहिले किन उमेर हद राखियो, अहिले किन हटाइयो, दुवै प्रश्नको जवाफ नेतृत्वले दिनुपर्ने माग राखेका छन् ।

केन्द्रीय सदस्य अरबिन्द सिंहले भने उमेर हदलाई आफू अनुकूल राख्ने र हटाउने विषयप्रति प्रश्न उठाएका छन्। 

‘उमेर हद आफू अनुकूल राख्ने र हटाउने क्रम अन्त्य हुनुपर्छ,’ सिंहले बैठकमा बोल्दै सोधेका छन्, ‘३ किसिमको विधान छापिएको भन्ने कुराको पार्टी नेताहरूबाटै सामाजिक सञ्जालमा छरपस्ट पार्ने काम हुँदैछ। सत्यतथ्य के हो ? ’  

७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउँदा पदाधिकारीको प्रतिस्पर्धा झन् बढ्ने भन्दै सिंहले पदाधिकारीको संख्या १९ बाट २१ बनाउनुपर्ने बताएका छन्। ‘आखिर नेतृत्व चयन गर्ने महाधिवेशनसम्म पुग्दा संख्या बढी हाल्ने विगत छ हाम्रो,’ उनले भने। 

वरिष्ठ उपाध्यक्षको पद हटाइएकोबारे पनि सिंहले प्रश्न गरेका छन्। ‘वरिष्ठ उपाध्यक्ष किन हटाइयो ?’ उनले प्रश्न गर्दै थपेका छन्, ‘विधान महाधिवेशनको बेला विधान र नीतिको मात्रै चर्चा गर्नुपर्छ। नेतृत्वको चर्चा गर्न हुँदैन भन्छौं तर आफै फलाना नै अध्यक्ष हो भन्छौं। यो विरोधाभाषी कुरा अन्त्य हुनुपर्छ।’ 

बैठकमा बोलेका केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गीरी, रविन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७