निवर्तमान मन्त्री गुप्तासँग सोधपुछ गर्दै अख्तियार

काठमाडौं । घुस ‘डिल’ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गर्ने भएको छ । अनुसन्धान अधिकृतको टोलीले घुस अडियोका बारेमा गुप्तासँग सोधपुछ गर्नुका साथै अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो ।
‘उहाँलाई उपस्थित हुनु भनेर आयोगमा बोलाइएको हो, अनुसन्धान टोलीले उहाँसँग सोधपुछ गर्नेछ,’ अख्तियार स्रोतले सुनायो, ‘त्यसक्रममा उहाँको आवाजको नमुना पनि लिने योजना छ ।’
नमुनाको रुपमा प्राप्त हुने अडियोको वास्तविकता परीक्षण गर्न सम्बन्धित व्यक्तिको आवाजसँग त्यसको परीक्षण गर्नुपर्छ । मन्त्री गुप्ताको आवाज भनी अडियो सार्वजनिक भएको थियो, त्यसको परीक्षणका लागि आयोगले उनको आवाज रेकर्ड गर्न लागेको हो ।
‘आवाज रेकर्ड गर्न उहाँसँग अनुमति लिइन्छ, अनि सोधपुछकै सिलसिलामा रेकर्ड भएको आवाज केही दिनअघि सार्वजनिक भएको आवाजसँग परीक्षण हुन्छ’, स्रोतले भन्यो । गत साता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवाबारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ताबीचको संवाद बाहिरिएको थियो । चौतर्फी दबाब परेपछि उनले राजीनामा दिएका थिए ।