विद्यालयको कक्षा कोठामै शिक्षिका मृत भेटिइन्

धनुषा । धनुषाको एक विद्यालयको कक्षा कोठामै शिक्षिका मृत्त भेटिएकी छन् । मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षा कोठामा झुण्डिएको अवस्थामा एक शिक्षिका मृत भेटिएकी हुन् ।
मृतक मिथिला नगरपालिका–८ जमुनिबासकी ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर हुन् । शिक्षिका मगरले सोही विद्यालयमा बाल विकास कक्षामा पढाउँदै आएको परिवारले जनाएका छन् । गत साउन १ गते बिहान करिब ४ः४५ बजे जमुनिबासमा विद्यालय कक्षा कोठामा मृत फेला परेपछि घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मिटरब्याजी जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग मृतक मगरले ऋण लिएकी थिइन् । घटनास्थल नजिकैबाट मगरको ज ११ प ७४९२ नम्बरको स्कुटीको डिक्कीमा प्रहरीले सुसाइड नोट समेत फेला पारेको जनाएको छ ।
घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मिटरब्याजी यादव समेत जोडिएको देखिएकाले उनलाई साउन २ गते नै पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा चलाइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार मृतक मगरले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन् ।
ऋण चुक्ता गरिसकेको भए पनि यादवले खाली चेक लिएर ४५ लाख रुपैयाँ उल्लेख गरेर बार्गेनिङ गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यादवले पटक–पटक मानसिक यातना, धाकधम्की र बेज्जती गर्ने चेतावनी दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी सिंहले बताए ।
यादवको घरबाट प्रहरीले विभिन्न व्यक्तिका नाममा भएका ९ थान सक्कल र प्रतिलिपि तमसुक, २३ थान सक्कलै जग्गाधनी प्रमाणपत्र, विभिन्न बैंक भौचर र चेकहरू समेत बरामद गरेको डिएसपी सिंहले जानकारी दिए । परिवारजनका अनुसार मिटरब्याजी यादवले असार ३२ गते घरमै पुगेर पैसा तिर्न दबाब दिएका थिए । नभए चेक बाउन्स गरेर जेल पठाउने धम्की दिएका थिए ।