चाक्सीबारीमा कांग्रेसका सात नेताको छलफल

काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीसहितका नेता छलफलमा जुटेका छन् । यस अघिदेखि नै आलोपालो छलफल गर्दै आएका संस्थापन निकटका नेताहरूले सोमबार छलफल गरेका हुन्। पूर्व उपसभापति प्रकाशमान सिंहको चाक्सीबारीस्थिति घरमा सात नेताबीच छलफल भएको हो । छलफलमा सिंहसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत सहभागी भएका छन् ।
छलफलमा समसामयिक राजनीति, पार्टीको १५ औं महाधिवेशनसहितका विषयमा छलफल भएको नेताहरूले बताएका छन् । यसअघि पनि शीर्ष नेताहरूले आलोपालो यस्तो छलफल गर्दै आएका थिए । सात नेताले सभापतिको उम्मेदवार आफूहरू मध्येबाटै तय गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन् ।
उनीहरूले यसअघिको छलफलमा सातै प्रदेशमा अन्तक्र्रिया गर्ने र थप नेताहरूलाई यो समूहमा जोड्दै लैजाने निर्णय गरेका थिए । संस्थापन पक्षका यी नेताहरूले सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा आफूभित्रबाटै उत्तराधिकारी छान्न दबाब दिन संयुक्त रूपमा बुढानीलकण्ठ समेत पुगेका थिए । तर, देउवाले अहिलेसम्म उत्तराधिकारी तोकेका छैनन् ।