सुनचाँदीको भाउ लगातार ओरालो, आज तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ लगातार ओरालो लागिरहेको छ । आज (आइतबार) पनि सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदीको २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ती शुक्रवार तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँमा झरेको छ । अस्ती शुक्रवार पनि सुन तोलामा छ सय रुपैयाँले घटेको थियो । त्यस्तै शुक्रवार तोलाको एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य प्रतितोला २१ हजार तीन सय रुपैयाँ घटिसकेको छ ।