सुरुङ उद्धारमा ढिलाइप्रति संसदमा आङदेम्बेको आक्रोश : मृत्यु कि हत्या ?
काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइप्रति सरकारको गम्भीर आलोचना गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै आङदेम्बेले उद्धारमा सुरुदेखि नै सरकारी संयन्त्रसँगै निजी क्षेत्र र आवश्यक परे अन्तर्राष्ट्रिय प्रविधि तथा दक्ष जनशक्ति परिचालन गर्नुपर्नेमा सरकार चुकेको आरोप लगाए।
उनले सुरुङ उद्धारमा पहिलो ७२ घण्टालाई महत्त्वपूर्ण मानिने भन्दै यही अवधिमा प्रभावकारी उद्धार हुन नसक्दा थप क्षतिको जोखिम बढेको बताए। ‘सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो,’ उनले भने, ‘निजी र अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्दा थप क्षतिको जोखिममा धकेल्ने काम भयो।’
आङदेम्बेको आरोप प्रधानमन्त्री वालेन्द्र शाहको संसद्मा व्यक्त धारणासँग पनि जोडिएको छ। प्रधानमन्त्री शाहले पहिरो पन्छाएर उद्धार गर्ने विज्ञ विश्वभर भए पनि पहिरोले थुनिएको सुरुङभित्र प्रवेश गरेर उद्धार गर्ने विशेष विज्ञता र प्रविधि तत्काल कसैसँग नभएको बताएका थिए। तर आङदेम्बेले सरकारसँग उपलब्ध विकल्प प्रयोग गर्न र सुरुदेखि नै अन्तर्राष्ट्रिय सहयोग खोज्न ढिलाइ गरेको दाबी गरे।
नेता आङदेम्बेले उद्धार स्थलमा पुगेर मन्त्रीले आफैँ माटो पन्छाएको तस्बिरलाई समेत सरकारको कार्यशैलीसँग जोडेर प्रश्न उठाए। ‘यदि त्यो सुरुङभित्र मन्त्रीको कोही परिवार वा आफन्तको सदस्य भएको भए मन्त्रीजीले प्राविधिक विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि मन्त्रीले माटो खोस्रेको फोटो–भिडियोमा वाह मन्त्रीज्यू भन्नुहुन्थ्यो ?’ उनले प्रश्न गरे। उद्धारमा देखिने गतिविधिभन्दा सुरुङभित्र फसेका नागरिकको जीवन बचाउने परिणाम महत्त्वपूर्ण हुने उनको भनाइ थियो। ‘जसको परिवार त्यहाँभित्र छैन, उसलाई त्यो फोटोमा वाहको प्रचार आउँछ । तर जसको सदस्य फसेको छ, उसलाई त प्राणको चासो छ नि,’ उनले भने।
आङदेम्बेले २०७२ सालको भूकम्पका बेला नेपालमा भएको अन्तर्राष्ट्रिय खोज तथा उद्धार परिचालनको उदाहरण दिँदै यसपटक पनि विदेशी सहयोग समयमै लिन सकिने बताए। उनका अनुसार भूकम्पका बेला ३४ देशका ७६ खोज तथा उद्धार टोली नेपाल आएका थिए। ‘त्यो अनुभवबाट धेरै कुरा सिक्न सक्थ्यौँ । त्यो सरकार कांग्रेसको नेतृत्वमा थियो भन्दैमा सिक्न नहुने त पक्कै थिएन होला ?’ उनले प्रश्न गरे। उनले स्थानीय सरकार, सम्बन्धित जलविद्युत् आयोजना, निजी क्षेत्र, इन्जिनियर तथा प्राविधिकसँग आवश्यक समन्वय नगरेको आरोपसमेत लगाए।
सुरुङ उद्धारमा सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै आङदेम्बेले सात दिन बितिसकेपछि मात्र सरकारले जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए। ‘आफू एक्सन नगर्ने, अरूलाई गर्न नदिने अनि सात दिन बितिसकेपछि हात उठाएर सरकारले भन्ने– सुरुङमा आफैँ खोज । यो कस्तो संवेदनशीलता र जिम्मेवारी हो ?’ उनले भने। उनले उद्धारमा भएको ढिलाइले सुरुङभित्र फसेकाहरूको ज्यान गुम्नुमा सरकारको जिम्मेवारीबारे समेत गम्भीर प्रश्न उठाए। ‘यो असंवेदनशीलताले ढिलाइका कारण ती सुरुङभित्र भएको मृत्यु–मृत्यु हो कि हत्या ?’ आङदेम्बेले भने।
आङदेम्बेले उद्धारमा सरकारको प्राथमिकता नै गलत भएको आरोप लगाए। संकटमा परेका परिवारको आवाज सुन्नुको सट्टा उनीहरूमाथि सामाजिक सञ्जालमा गालीगलौज र धम्की भएको भन्दै उनले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए। ‘संकटमा परेको नागरिकको आवाज सुन्ने कि दबाउने ? नागरिकलाई आश्वस्त पार्ने कि थप आतंकित बनाउने ?’ उनले सरकारलाई प्रश्न गरे।
उनले सरकार सामाजिक सञ्जालको प्रचारमा बढी केन्द्रित भएको आरोपसमेत लगाए। ‘सरकार परिणाम दिन र प्राण जोगाउनभन्दा प्रचार मिलाउन लाग्यो । फिल्डमा भन्दा फेसबुकमा धेरै भयो । हल्लामा लाग्यो,’ उनले भने। सुरुङभित्र फसेका नागरिकको उद्धारमा भएको ढिलाइको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको माग छ।
.gif)

.png)

