भोटेकोशी बाढीबारे चिनियाँ अध्ययन : ठूलो वर्षा नभए पनि कसरी आयो विनाशकारी लेदोबाढी ?
उच्च हिमाली क्षेत्रमा भएको हिम–चट्टान अस्थिरता विपद्को मुख्य कारण
काठमाडौं : गत भदौ १० गते नेपाल–तिब्बत सीमाक्षेत्रमा भएको विनाशकारी विपद् तत्कालीन ठूलो वर्षाका कारण मात्र नभएको चिनियाँ अनुसन्धानकर्ताहरूको नयाँ अध्ययनले देखाएको छ। चिनियाँ एकेडेमी अफ साइन्सेस (सीएएस) अन्तर्गतको इन्स्टिच्युट अफ तिब्बतीयन प्लेटो रिसर्चको नेतृत्वमा गरिएको अध्ययनले विपद्को सुरुआत उच्च हिमाली क्षेत्रमा भएको हिम–चट्टान अस्थिरताबाट भएको र करिब २२ किलोमिटर लामो खोँच हुँदै तल झर्दा थप गेग्य्रान मिसिँदै गएपछि यसको विनाशकारी शक्ति तीव्र बनेको निष्कर्ष निकालेको छ।
अनुसन्धानका अनुसार विपद्अघि केही महिनासम्म उक्त क्षेत्रमा औसतभन्दा कम वर्षा भएको थियो। घटनाको तत्कालअघि पनि ठूलो वर्षा भएको प्रमाण भेटिएको छैन। त्यसैले छोटो अवधिको अतिवृष्टिलाई मात्र विपद्को मुख्य कारण मान्न नसकिने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।
तापक्रम बढ्दा हिमनदी अस्थिर
अनुसन्धानकर्ताहरूले विपद्अघिको वसन्त र ग्रीष्म ऋतुमा उच्च हिमाली क्षेत्रमा सामान्यभन्दा बढी तापक्रम रहेको र त्यसले हिमनदीको गति तथा अन्तिम भागतर्फ हिउँको प्रवाह बढाएको बताएका छन्। तातो मौसमका कारण उच्च उचाइमा हिउँ पग्लिने क्रमसँगै परमाफ्रोस्टको क्षयीकरण पनि बढेको थियो। यसले हिउँ र चट्टानबीचको स्थिरता कमजोर बनाउँदै लामो समयदेखि विकसित भइरहेको अस्थिरतालाई बढाएको हुन सक्ने अध्ययनको निष्कर्ष छ। यद्यपि, अनुसन्धानकर्ताहरूले उपलब्ध प्रमाणका आधारमा तत्कालीन रूपमा हिम–चट्टान खस्नुको एउटै निश्चित कारण भने पहिचान भई नसकेको स्पष्ट पारेका छन्।
२२ किलोमिटरको बाटोले बढायो विनाश
अध्ययनको अर्को महत्त्वपूर्ण निष्कर्ष विपद्को सुरुआती हिम–चट्टान खसाइभन्दा त्यसपछि विकास भएको बहाव प्रक्रियाले क्षतिको परिमाण धेरै बढाएको हो। हिम र चट्टानका अवशेष करिब २२ किलोमिटर लामो खोँच हुँदै तलतर्फ बग्दा नदीकिनार कटान गर्दै थप माटो, ढुंगा तथा अन्य सामग्री आफूसँग मिसाउँदै गए। नदीको पानीसँग समेत प्रतिक्रिया भएपछि सुरुआती हिम–चट्टान पहिरो क्रमशः विशाल लेदोयुक्त बहावमा परिणत भयो।
यसरी उत्पत्ति क्षेत्रमा भएको सीमित हिम–चट्टान खसाइ तल्लो क्षेत्रमा पुग्दा ठूलो मात्राको गेग्य्रान बोकेको विनाशकारी लेदोबाढीमा परिणत भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। उनीहरूका अनुसार बहाव मार्गमा हुने कटान र थप सामग्री मिसिने प्रक्रिया सहायक घटना मात्र होइन, तल्लो तटीय क्षेत्रमा विपद्को तीव्रता निर्धारण गर्ने प्रमुख कारक हो।
अघि नै देखिएका थिए संकेत
अनुसन्धानकर्ताहरूले मुख्य हिम–चट्टान पहिरो खस्नुभन्दा केही घण्टाअघि नै सम्भावित अस्थिरताका संकेतहरू देखिएको बताएका छन्। उत्पत्ति क्षेत्रमा साना–साना हिमनदी तथा हिउँका भाग खस्ने लगायतका असामान्य गतिविधि देखिएका थिए। यस्ता गतिविधि एउटै समय आसपास दोहोरिएको अध्ययनले देखाएको छ।
यसबाट ठूलो विपद् हुनुअघि उच्च हिमाली क्षेत्रमा जमिन तथा हिम–चट्टानको गतिशीलतासँग सम्बन्धित साना घटनाहरूको शृंखला विकसित भएको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ। यी संकेतहरूको थप मूल्यांकन भने बाँकी रहेको उनीहरूले बताएका छन्। तर, यसले भविष्यमा उच्च हिमाली क्षेत्रमा हुने अल्पकालीन अस्थिरता पहिचान, निगरानी र पूर्वसूचनाका लागि नयाँ आधार दिन सक्ने उनीहरूको भनाइ छ।
जोखिम आकलनको दायरा फराकिलो बनाउन सुझाव
अध्ययनले हिमाली विपद्को जोखिम मूल्यांकन गर्दा पहाड वा हिमनदीबाट कति सामग्री खस्न सक्छ भन्ने अनुमानमा मात्र सीमित हुन नहुने औँल्याएको छ। उत्पत्ति क्षेत्रको स्थिरता, बहावको बाटोमा थप माटो–ढुंगा मिसिने सम्भावना, नदीको बहाव, तल्लो क्षेत्रमा रहेका बस्ती तथा पूर्वाधारको जोखिमलाई एउटै विपद् शृंखलाका रूपमा विश्लेषण गर्नुपर्ने अनुसन्धानकर्ताहरूको सुझाव छ।
अर्थात्, विपद्को वास्तविक जोखिम ‘पहाडबाट कति भाग भत्किन्छ’ भन्नेमा मात्र होइन, त्यो सामग्री तल झर्दै गर्दा बाटोमा कति थप पदार्थ मिसिन्छ र अन्ततः मानिस तथा पूर्वाधार भएको क्षेत्रमा कस्तो शक्ति लिएर पुग्छ भन्नेमा पनि निर्भर हुन्छ।
उपग्रहदेखि भूकम्प र भिडियोसम्मको तथ्यांक
अनुसन्धान टोलीले विपद्अघिका र विपद्पछिका उपग्रह तस्बिर, भू–धरातलीय तथ्यांक, भूकम्प मापन केन्द्रका रेकर्ड, स्थलगत निगरानीका भिडियो तथा अन्य भिडियो सामग्रीलाई एकीकृत गरेर अध्ययन गरेको जनाएको छ। भदौ १० को विपद्पछि सीएएस इन्स्टिच्युट अफ तिब्बतीयन प्लेटो रिसर्चअन्तर्गतको नेसनल तिब्बतीयन प्लेटो डेटा सेन्टरले आपत्कालीन प्रतिकार्यअन्तर्गत विपद्को विकासक्रम, प्रभावित क्षेत्र र त्यसपछिका सम्भावित जोखिमको प्रारम्भिक मूल्यांकन गरेको थियो।
त्यही कामलाई अघि बढाउँदै गरिएको विस्तृत अनुसन्धानका निष्कर्ष मंगलबार अकादमिक जर्नल चाइनिज साइन्स बुलेटिनमा प्रकाशित भएका हुन्। अनुसन्धानमा सीएएस इन्स्टिच्युट अफ तिब्बतीयन प्लेटो रिसर्चसहित युनान युनिभर्सिटी, द चाइनिज युनिभर्सिटी अफ हङकङ, वुहान युनिभर्सिटी, सेन्ट्रल साउथ युनिभर्सिटी तथा विभिन्न चिनियाँ अनुसन्धान संस्थाहरू सहभागी थिए।
अनुसन्धानकर्ताहरूले यस्तो अध्ययनले आपत्कालीन उद्धार, विपद्पछिको मूल्यांकन र पुनर्निर्माणमा वैज्ञानिक आधार दिनुका साथै हिमाली क्षेत्रमा सीमापार विपद् अनुगमन, पूर्वसूचना तथा जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन्।
.gif)

.png)

