यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सिंगो नेपालको साझा बज्रपात हो : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन। यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।’
भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा विनाशकारी बाढी आएको थियो। उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित भएका छन्।
बाढीमा परी हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको हो। ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २९२ जना घाइते भएका छन्। हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सुरुमै बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे जानकारी गराएका हुन्। प्रधानमन्त्री शाहले संकटको यो घडीमा शरीर थकित भयो भन्दै विश्राम लिने छुट नरहेको बताए। मन भक्कानिए पनि एक–आपसमा बिलौना गर्ने समय नभएको उनको भनाइ थियो। ‘तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा एक–आपसमा बिलौना गर्ने समय छैन,’ उनले भने।
.gif)

.png)

