बाढीपीडितको खोज, उद्धार र पुनर्स्थापनामा सरकारलाई संसद्को निर्देशन
काठमाडौं : रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्दै प्रतिनिधि सभा बैठकले सभामुख डीपी अर्यालले पेस गरेको विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
प्रस्तावमार्फत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र बनाउन, विस्थापित नागरिकको तत्काल व्यवस्थापन तथा पुनर्स्थापना गर्न र घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको छ। सभामुख अर्यालले राष्ट्रिय शोकको घडीमा तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सबै संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रस्तावमा रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको उल्लेख छ। बाढीमा स्वदेशी तथा विदेशी नागरिकसमेत ठूलो संख्यामा बेपत्ता भएका छन् भने धेरैको ज्यान गएको छ। प्रतिनिधि सभाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घरबारविहीन नागरिकको तत्काल उचित व्यवस्थापन र पुनर्स्थापनाका लागि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
.gif)

.png)

