गोली हानेर मारिएको बँदेल ‘बेवारिसे’ देखाएर ‘उम्किए’ पूर्व डीआइजी र वहालवाला सइ


२०८१ भदौ १४ शुक्रबार ०६:३० बजे

सप्तरी । अवैध चोरी शिकारीमा नियन्त्रणमा परेका पूर्व डीआइजी र वहालवाला सइसहित १० जना २४ घण्टा नबित्दै छुटेका छन् ।  गोली हानेर मारिएको बँदेलसहित पक्राउ परेका पूर्व डीआइजीसहित १० जनालाई  जमानीमा छाडिएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञानविक्रम शाह र विराटनगर–३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने, हनुमाननगर कंकालिनी–८ घरभएका आकाश बहरखेर यादव, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का जनार्दन राउत, इटहरी–२ का प्रदीप लिम्बु, राजविराज–७ का रविन दास, हनुमाननगर कंकालनी–५ का ओमशंकर प्रसैला, वडा–१ का लक्षमण मण्डल, वडा–३ का शंकर खिडहरी यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट २२ क्यालीबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको थियो । राइफल र गोली अनुमति प्राप्त हो वा होइन भन्ने स्पष्ट खुल्न सकेको छैन ।

सप्तरी प्रहरीले को २ त ६९ नम्बरको ट्याक्टर र त्यसमा रहेको मृत बँदेललाई बेवारिसे अवस्थामा फेला परेको मुचुल्का बनाई सवडिभिजन वन कार्यालय कञ्चनपुर पठाएको छ । वन डिभिजन कार्यालय सप्तरीका प्रमुख (डिएफओ) शुभाष यादवले भने, ‘प्रहरीले ट्याक्टर र बँदेल बेवारिसे फेला परेको मुचुल्कासहित सब डिभिजनमा बुझाएको छ ।’ 

अवैध रुपमा बँदेल मारेर ल्याउँदै गर्दा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी पलार क्षेत्रबाट बुधबार राति ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको टोलीले १० जनालाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धान नै रहेको भन्दै प्रहरीले बिहीवार राति सबैलाई जिम्मा जमानीमा छोडिदिएको हो ।

सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले भने, ‘पूर्व डीआईजी शाहको नाममा  अनुमतिपत्र रहेको राइफलको अनुमति पत्रको फोटोकपी पेश भएको छ । यद्यपि यसको  प्रयोजनबारे अनुसन्धान भइरहेको छ ।’ यता सर्वसाधरणले भने चोरी शिकारीमा नियन्त्रणमा लिइएकाहरु २४ घण्टा नबित्दै छुटेपछि ‘प्रहरीले चाहे जे हुने’ बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७