एमालेपछि आफ्ना सांसदलाई कांग्रेसको निर्देशन : एक हप्ता काठमाडौं नछोड्नू


२०८१ भदौ २६ बुधबार १९:४८ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई एक हप्ता काठमाडौं नछोड्न निर्देशन दिएको छ । आज (बुधबार) कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई एक हप्ता काठमाडौं नछोड्न निर्देशनसहित सर्कुलर गरेका हुन् । एक हप्ता काठमाडौं नछोड्न र बाहिर भएको भए काठमाडौं आउन निर्देशनसहितको सन्देश आएको कांग्रेसका एक सांसदले सुनाए ।  

यसअघि सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले मंगलबार आफ्ना सांसदहरूलाई असोज ३ सम्म काठमाडौं नछाड्न निर्देशन दिएको थियो । एमालेले महत्वपूर्ण केही विधेयक पास गर्नुपर्ने र बर्खे अधिवेशनको अन्त्य हुने भएकाले काठमाडौं नछोड्न सांसदहरूलाई सन्देश पठाएको थियो । 

यसैबीच सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । एमाले, कांग्रेससहितका सत्तारुढ दलका सांसदहरूले संसद सचिवालयमा उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका छन् । त्यसका लागि एमाले–कांग्रेसका सांसदहरूको हस्ताक्षर अभियान सुरु गरिएको छ । यसअघि बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले उपसभामुख रानाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७