चौधर नदीकाे कटानले बस्ती जोखिममा, महाकालीले बाँध भत्कायो


२०८१ भदौ २९ शनिबार १९:४४ बजे

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछि बस्ती नै जोखिममा पर्न थालेको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झण्डै तीन बिघा जग्गा कटानी गरी बगरमा परिणत गरेको छ । टोलकै ज्ञानज्योति बालविकास केन्द्रको जग्गा समेत कटानी गरेको छ । 

नदी तटीय क्षेत्रमा बसोबास गर्ने धनगिरी ओडले सात कट्ठा जग्गामा लगाइएको धानबालीसहित खेत बगाएको बताए । ‘थोरै जग्गा थियो, त्यै जग्गा पनि नदीले बगाएको छ, घर समेत उच्च जोखिममा परेको छ’, उनले भने । बाढीबाट जोगिन आफन्तको शरणमा जानुपर्ने अवस्था सिर्जना भएको ओडले बताए । 

यस टोलमा अधिकांश आर्थिक रूपमा विपन्न दलित समुदायका परिवारको बसोबास रहेको छ । तटबन्धको प्रबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले यसरी नै जग्गा कटानी गर्दै आएको छ । यसै वर्षायाममा एक दर्जन बढी परिवारको जग्गा कटान भइसकेको समाजसेवी राजुराम सार्कीले बताए । ‘तटबन्ध निर्माणका लागि पटक–पटक नगरपालिका कार्यालयलाई गुहार्दै आएका छौँ, अहिलेसम्म सुनुवाइ हुन सकेको छैन’, उनले भने । सार्कीकाअनुसार धेरै परिवारको जग्गा बगेको र बचेको जग्गा पनि बगरमा परिणत भएको छ । अब चाँडै तटबन्ध निर्माण नभए पूरै गाउँका बासिन्दाले विस्थापन हुनुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

यसैगरी, कृष्णपुर नगरपालिका–२ बङ्कस्थित बादी समुदायको बस्ती रहेको प्रगति टोलमा वनहरा नदीले कटानी गरिरहेको छ । वनहरा विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम रानाले नदीले धार परिवर्तन गरी बादी बस्तीतर्फ सोझिएर कटानी गर्न थालेको बताए । ‘दुई सय मिटर बाटो बगाई नदीले बस्तीको जग्गा कटानी गरिरहेको छ ।रोकथामका लागि तत्काल केही उपाय नहुने हो भने धेरै समस्या निम्तिने देखिन्छ । त्यसैले सम्बन्धित निकायलाई तटबन्ध निर्माणका लागि आग्रह गर्दछौं’, उनले भने । 

वडाअध्यक्ष अर्जुन साउदले बस्ती जोगाउन तटबन्ध निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइने बताए । उनले भने, ‘तटबन्ध निर्माण गर्न वडाको बजेटले धान्दैन, अन्य निकायलाई गुहार्नुको विकल्प छैन ।’ यसैबीच महाकाली नदीमा आएको बाढीले निर्माणाधीन महाकाली चार लेन पक्की पुल आयोजनामा क्षति पुर्‍याएको छ । महाकाली नदीको बाढीले आयोजना अन्तर्गत पोखरी निर्माण गर्न राखिएको बाँध कटान गरेको छ । भीमदत्त नगरपालिका–१२ ऐरीस्थित पोखरीका लागि ढुंगा र ग्राभेल हालेर बनाइएको बाँध महाकाली नदी कटान गरिरहेको हो । 

महाकालीको धार परिवर्तन गरेर कटान रोक्ने प्रयास जारी रहेको भीमदत्त नगरपालिका–१२ का अध्यक्ष भुपेन्द्र सिंह रावलले बताए । ‘हिजो महाकालीमा पानीको तीव्र बहाब हुँदा कटान भएन । आज पानी घट्दै जाँदा महाकालीको धार बाँधतर्फ सोझियो । जसले बाँधमा कटान गरिरहेको छ,’ उनले भने, ‘कटान गरिरहेको बाँधको एक ठाउँमा आधा भन्दा बढी बाँध बगाइसकेको छ ।’ जेसीबी र स्काभेटरको सहायताले सिमेन्टका ब्लक राखेर महाकालीको धार फर्काउने प्रयास गर्दा पनि सफल नभएको उनको भनाई छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७