साढे चार वर्षपछि घर फर्किन लागेका रुपलाल मलेसियाको विमानस्थलमै अस्ताए


०५:४६ बजे

काठामाडौं । दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी शनिबार दिउँसो साढे चार वर्षपछि नेपाल फर्किने तयारीमा थिए । घर फर्कन लागेका उनी परिवारसँग भेट्न उत्साहित थिए । दिउँसो करिब २ बजे क्वालालाम्पुरको विमानस्थल (एयरपोर्ट) पुगेपछि घरमा पत्नीलाई भिडियो कल गरे । आफू फर्कन लागेको भन्दै एयरपोर्टका दृष्यहरु मेवाइलबाट देखाए । उनले दिदी, भिनाजु र आफन्त धेरैलाई फोन गरे । मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी गरे ।

मलेसियाबाट नेपाल फर्किने जहाजको त्यस दिन नेपाली समय अनुसार ३ बजेको उडान थियो । उनी बोर्डिङ पास लिएर र लगेजहरु पठाएर उडानको पर्खाइमा थिए । दुई छोरा, श्रीमती र वृद्ध आमा छाडेर रोजगारीका लागि मलेसिया पुगेका रूपलाल जन्मभूमि फर्कदै थिए । सानैमा छाडेर विदेशिएका बुवा भेट्न १३ र १६ वर्षीय छोराहरू विपिन र विवेक बाटो हेरिरहेका थिए ।

जन्म दिएकी ८० वर्षीया आमा रुपनी छोरा आउने खुशीमा बसेकी थिइन् । ‘फ्ल्याइटको केहीबेर अघिसम्म छोरा र भाइसँग कुरा भइरहेको रहेछ’ रुपलालका भतिज घनश्याम थारुले सुनाए, ‘कुराकानी हुँदा हुँदै काका (रुपालाल) को म्यासेज आउन छोड्यो ।’ सुरुमा परिवारले फ्लाइटको समय भएकाले रिप्लाई नआएको होला भन्ने अनुमान गरे । तर त्यसपछि केही खबर आएन । नेपाल फर्किने बेलासम्म पनि खबर नआएपछि परिवारका सदस्य आत्तिए । उनको मोबाइलमा फोन गरिरहे, तर उठेन ।

लामो समयसम्म फोन गरिरहेपछि मलेसियाली नागरिकले फोन उठाएर केही भने, तर कसैले बुझेन । रुपलालका छोरा विपिनले मलेसियामा नै रहेका काका लोकमणिलाई बुझ्न लगाए । लोकमणिले बुझ्दा रुपलालको विमानस्थलै मृत्यु भएको थाहा भयो । भाइ लोकमणिले घरमा पठाएको खबर अनुसार जहाज पर्खिरहेका बेला रुपलाल अचानक ढलेका थिए । उनको विमानस्थलमै मृत्यु भइसकेको थियो । उनको पोर्टमार्टम हुन  बाँकी छ ।

भजित घनश्याम थारुका अनुसार साढे चार वर्षपछि घर फर्कन लागेका रुपलाल अब मलेसिया नफर्किने गरी आउँदै थिए । घर फर्केर उनले परिवारसँग समय बिताउन चाहेका थिए । पहिलो पटक मलेसिया गएका उनी परिवारसँग छुट्टिएर बस्दाको नियास्रो मेटाउन चाहन्थे । दशैंको मुखमा घर फर्कन लागेका रुपलालको मृत्युको खबरले परिवार शोकमा छ । आइतबार मात्र मृत्युको खबर पाएकी उनकी पत्नी मनबुझौनी चौधरी विक्षिप्त छिन् । ‘चाडबाडकै मुखमा, त्यो पनि घर फर्कने बेला यस्तो खबर आयो’, भतिज घनश्याम भन्छन्, ‘मृत्युको खबरले परिवार आँशुमा डुबेको छ । गाउँ नै शोकमा छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७