रास्वपाका पूर्व सांसद ढाकाकुमार पक्राउ


२०८१ भदौ २७ बिहीबार १९:४३ बजे

काठमाडौं । दिया फार्मेसीका सञ्चालक डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद समेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीवार नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई लागुऔषध बिक्री–वितरण गरेको कसुरमा पक्राउ गरिएको जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कमा ट्रुपेन (टपान्टाडोल) नामक ९७ पिस ट्याब्लेटसहित पक्राउ परेका प्रकाश थापामगरको बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको पाइएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भएका थापामगरले उक्त ट्याब्लेट श्रेष्ठ सञ्चालक रहेको पोखराको पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए । उक्त ट्याब्लेट डाक्टरको प्रेस्क्रिप्सन बिना बिक्री–वितरण गर्न पाइँदैन ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले श्रेष्ठको फार्मेसीबाट डाक्टरको प्रेस्क्रिप्सनबिनै ट्रुपेन बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको बताए । उनलाई जिल्ला अदालत कास्कीमा लागुऔषध बिक्री–वितरण तथा ओसारपसार मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए । एक व्यापारीसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो । उनले सांसद पदसँगै रास्वपाको साधारण सदस्यता समेत गुमाएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७