अब चाँडै आन्दोलनको ठूलै आँधीबेहरी आउँछ : प्रचण्ड


२०८१ भदौ २९ शनिबार १९:४४ बजे
फाइल फोटो

सुनसरी । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई–तीन महिनाभित्र आन्दोलनको ठूलै आँधीबेहरी सिर्जना हुने बताएका छन् ।  

उनले अहिलेको सरकार ‘भ्रष्टाचारीहरुको र भ्रष्टाचारी बचाउन बनेको’ भनेर जनताले बुझेको बताउँदै कुनै पनि बेला आन्दोलन भड्किन सक्ने बताए । योङ्ग कम्युनिष्ट लिग नेपाल इटहरीको छैटौं इटहरी सम्मेलनमा बोल्दै उनले भने, ‘त्यो आन्दोलन हुँदा एकातिर सामन्ती अवशेषहरू यथास्थितिवादीतिर लाग्ने, अहिलेको सरकार सञ्चालकहरू चाहिँ २०४७ सालतिर फर्कने र माओवादीसहित केही दल भने अहिलेको उपलब्धिको पनि रक्षा गर्ने र थप उन्नतिका निम्ति अगाडि परिवर्तनका पक्षमा रहनेछौं ।’ 

आन्दोलनबाट परिवर्तन भएर राजनीतिक मात्रचित्रलाई नयाँ ठाउँमा पुर्‍याउन सकिने भएकाले कार्यकर्तालाई तयारी अवस्थामा रहन उनले निर्देशन समेत दिए ।  उनले दुर्गा प्रसाईंलाई केपी ओलीले नै केन्द्रीय सदस्य बनाएको र बालेनलाई माओवादीको पोल्टामा हाल्दा फाइदै पुग्ने टिप्पणी गरे ।

‘हाम्रो नेतृत्वको सरकारले भ्रष्टाचारीहरु, त्यसमा पनि सबैभन्दा हाई प्रोफाइलका मान्छेहरू जेलमा परे, अनि ठूला ठूला मान्छेहरू राज्यबाट जनताको सार्वजनिक जग्गा व्यक्तिको नाममा पारेर चलखेल गर्नेहरूविरुद्ध फिर्ता ल्याउने काम भयो,’ उनले भने, ‘ललिता निवास, बासवारी छाला जुत्ता कारखानासँगै गिरीबन्धुलगायतका भ्रष्टाचारीविरुद्द ठूलो कदम बढाउँदै लाने योजनामा थियौं ।’ ‘पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको इतिहास केही छैन, भारतमा कांग्रेस आइ र जेपिआई मिलेर कहिल्यै सरकार बनाएका छैनन् । अपवादमा ठूलै दुर्घटना हुँदा मात्र राष्ट्रिय सरकार बन्छ,’ प्रचण्डले भने, ‘मिल्नुपर्ने एउटै मात्र कारण भ्रष्टाचार बचाउन ।’

उनले विगतमा आफूहरुबाट कमजोरी भएको बताउँदै भने, ‘अलिअलि पूजीपतिसँग, अलिकति दलालसँगै विचौलियासँगको संगत गर्न लाग्यौ, अब जनताको अगाडि लाज नमानीकन भनेर जानुपर्छ ।’ अध्यक्ष प्रचण्डले २०६४ सालमा माओवादीलाई मत हालेका र तिनका छोराछोरीको सूची तयार पार्नुका साथै माओवादी जनयुद्धमा साथ दिएका वाइसिएल र जनमुक्ति सेनाको अवस्था, घाइते, अपाङ्ग, शहीद र बेपत्ता परिवारको अवस्थाको तथ्याङ्क तल्लो वडा तहदेखिको राख्न निर्देशन दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७