पाँचथर विष्फोट अपडेट : घाइते दाजु–बहिनीको मृत्यु, दुई जनाको उपचार हुँदै


२०८१ भदौ १४ शुक्रबार ०६:२६ बजे

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विष्फोटमा घाइते थप एक बालकको ज्यान गएको छ । विष्फोटमा परी गम्भीर घाइते दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । 

बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए । घाइते भए लगत्तै पाँचथर अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राति १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक किरण गौतमले जानकारी दिएका छन् । उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको पनि भण्डारीले बताए ।

ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विष्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन् । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्दकालमा लुकाइएको हुन सक्ने स्थानीयको आशंका छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७