पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी, अर्याल फरार
काठमाडौं : मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालविरुद्ध पक्राउ अनुमति लिइसकेको जनाएको छ । सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले उनको खोजी भइरहेको छ ।
यसैबीच प्रहरीले अर्याल फरार रहेको जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ पुर्जीका आधारमा अर्याललाई पक्रिन खोज्दा उनी फरार भएको प्रहरीले जनाएको छ ।
‘हाम्रो टोलीले उहाँलाई खोजिरहेको छ, तर उहाँ भागेर देशबाहिर जानुभएको भन्ने सूचना पाएका छौँ’, सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताए ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, सचिव विनोद केसीसहितका कर्मचारीलाई पक्राउ गरेको थियो । उक्त कार्यकालमा पूर्वमुख्यसचिव अर्याल श्रम सचिव थिए ।
प्रहरीले रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पनि पक्राउ गरेको छ ।
.gif)

.png)




