ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना
काठमाडौं : एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य असुल्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
ग्यास सिलिन्डरको मूल्य बढी लिएको भन्दै उपभोक्ताले ‘हेलो सरकार’ को वेब पोर्टलमार्फत गुनासो दर्ता गराएका थिए । उक्त गुनासोपछि हेलो सरकारको समन्वयमा विभागको अनुगमन टोली सम्बन्धित स्टोरमा पुगेको थियो ।
अनुगमनका क्रममा मूल्यमा कैफियत भेटिएपछि स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हेलो सरकारले जनाएको छ ।
हेलो सरकारले गुनासो दर्ता गराउने उपभोक्तालाई धन्यवाद दिँदै तत्काल कारबाही प्रक्रिया अघि बढाएर सहयोग गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागप्रति आभार व्यक्त गरेको छ ।
सरकारले उपभोक्ता ठगी वा सार्वजनिक सेवा प्रवाहमा समस्या भए हेलो सरकारको निःशुल्क फोन नम्बर ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो दर्ता गराउन आग्रह गर्दै आएको छ ।

.gif)

.png)




