अर्काको नाम र हस्ताक्षरमा झुट्टा उजुरी दिने दीपक पुनलाई अख्तियारले गर्यो जरिवाना
काठमाडौं : अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमका दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ।
आठबिसकोट नगरपालिका–५ निवासी पुनले एबी राई (आङबाबु राई) को नामबाट नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) भएको बताउने एक व्यक्तिविरुद्ध उजुरी दिएका थिए।
उजुरीमा सहकारीबाट लिएको ऋण फिर्ता माग्दा आफू डिआइजी भएको भन्दै मुद्दा मिलाइदिने आश्वासन दिएर ४० लाख रुपैयाँमध्ये १५ लाख नगद र थप रकमका लागि कान्छी श्रीमतीको नाममा चेक लिएको आरोप लगाइएको थियो। ती व्यक्तिले धम्की दिँदै रकम मागिरहेको दाबीसमेत उजुरीमा गरिएको थियो।
तर, उजुरीमाथि अनुसन्धान गर्दा आङबाबु राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षर पनि आफ्नो नभएको बताएका थिए। त्यसपछि आयोगले उजुरीको वास्तविकताबारे थप अनुसन्धान अघि बढाएको थियो।
आयोगका अनुसार पुनले २०८३ असार १७ गते दिएको बयानमा आङबाबु राईको नामबाट आफूले नै उजुरी दर्ता गराएको स्वीकार गरेका थिए।
अनुसन्धानका क्रममा पुन र राई दुवैले उजुरीमा उल्लेख गरिएको जस्तो घटना नभएको, कसैले धम्की नदिएको र मुद्दा मिलाइदिने भन्दै रकमसमेत नमागिएको बयान दिएका थिए।
सम्बन्धित व्यक्तिको जानकारी र स्वीकृतिबिना उनको नाम तथा हस्ताक्षर प्रयोग गरी दुःख र हैरानी दिने बदनियतले झुट्टा उजुरी दिएको पुष्टि भएपछि पुनलाई जरिवाना गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायत प्रचलित कानुनी व्यवस्थाबमोजिम पुनलाई दुई हजार रुपैयाँ जरिवाना गरिएको हो।
.gif)

.png)



