दसैँमा ६ ठाउँबाट ग्यास सिलिन्डर साट्ने सकिने

उद्योगले आफ्नै ब्रान्डमा सीमित गरेको गुनासो


२०८३ असोज २५ आइतबार १२:३६ बजे
फाइल फोटो

काठमाडौं : दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ। 

तर, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने भनिए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साटिदिएको उपभोक्ताले गुनासो गरेका छन्।

घटस्थापनादेखि फूलपातीसम्म सञ्चालन हुने यो व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्ने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।

सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नु नपर्ने भपनि भरिएको ग्यासको निर्धारित मूल्य भने तिर्नुपर्नेछ।

संघले उपत्यकाका ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ। कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा ग्यास वितरण भइरहेको छ। 

त्यस्तै, बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट पनि सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

ग्यास वितरण तथा सिलिन्डर साट्ने समय बिहान ९ः३० देखि अपराह्न ४ बजेसम्म तोकिएको छ। नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था कार्यान्वयन गरिएको हो।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले एक साताका लागि जुनसुकै कम्पनीका सिलिन्डर साट्न सकिने व्यवस्था गरिएको बताएका छन्।

बजारमा ५८ वटा ग्यास उद्योगका ५८ ब्रान्डका सिलिन्डर प्रचलनमा छन्। सामान्य अवस्थामा एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीमा साट्दा उपभोक्ताले तीन सय रुपैयाँसम्म अतिरिक्त रकम तिर्नुपर्ने अवस्था छ। 

यस्तो अतिरिक्त खर्चबाट उपभोक्तालाई राहत दिन नयाँ व्यवस्था गरिएको संघको भनाइ छ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पनि उद्योगीसँगको छलफलपछि उपभोक्तालाई सहज बनाउन सिलिन्डर साट्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन्।

विशेषगरी घरमा एउटा मात्र सिलिन्डर भएका परिवारलाई दशैँका बेला ग्यास खोज्दै पसलपसल धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो। 

व्यवस्थाको दुरुपयोग रोक्न प्रत्येक वास्तविक उपभोक्तालाई एउटा मात्र सिलिन्डर साट्न दिइनेछ। सेवा लिन आउने उपभोक्ताको पहिचान खुल्ने विवरण र मोबाइल नम्बरसमेत अभिलेखमा राखिने संघले जनाएको छ।

यद्यपि, घोषित व्यवस्थाअनुसार जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाउनुपर्ने भए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र स्वीकार गरेको उपभोक्ताको गुनासो छ। 

यसले सबै वितरण केन्द्रमा व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएको छ कि छैन भन्ने प्रश्न उठाएको छ। सिलिन्डर साट्ने सुविधा घोषणा गर्नु मात्र पर्याप्त हुँदैन। 

सबै तोकिएका केन्द्रमा जुनसुकै कम्पनीका खाली सिलिन्डर स्वीकार गर्ने व्यवस्था कार्यान्वयन भएमा मात्रै उपभोक्ताले यसको वास्तविक लाभ लिन सक्नेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७