क्रिकेटमा नयाँ नियम लागू : ढिलो गर्ने ब्याटरलाई ५ रन जरिवाना
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेटका खेल नियममा विभिन्न परिवर्तन गरेको छ। परिमार्जित नियमअनुसार खेलमा समय खेर फाल्ने ब्याटरमाथि कडाइ गर्दै तेस्रोपटकदेखि विपक्षी टोलीलाई ५ रन पेनाल्टी दिने व्यवस्था गरिएको छ।
नयाँ नियमअनुसार बलर रनअप सुरु गर्ने अवस्थामा स्ट्राइकिङ ब्याटर बल सामना गर्न तयार नभए पहिलोपटक चेतावनी र दोस्रोपटक अन्तिम चेतावनी दिइनेछ। तेस्रो तथा त्यसपछिका प्रत्येक घटनामा विपक्षी टोलीलाई ५ रन प्रदान गरिनेछ।
टेस्ट तथा बहु(दिवसीय खेलमा भने यस्तो चेतावनीको गणना प्रत्येक ८० ओभरपछि पुनः सुरु हुनेछ। खेलाडी आउट भएपछि नयाँ ब्याटर क्रिजमा आउन पाउने दुई मिनेटको समय भने यथावत् राखिएको छ।
आईसीसीले महिला क्रिकेटका लागि पुरुष तथा जुनियर क्रिकेटभन्दा फरक आकार र तौलको बल प्रयोग गर्ने व्यवस्था पनि गरेको छ। अब पुरुष, महिला र जुनियर क्रिकेटका लागि छुट्टाछुट्टै बलको मापदण्ड रहनेछ।
त्यस्तै, दिउँसो खेलिने टेस्टमा आवश्यकताअनुसार गुलाबी बल प्रयोग गर्न सकिने, बहु(दिवसीय खेलमा दिनको अन्तिम ओभरमा विकेट खस्दैमा खेल समाप्त नहुने तथा बाँकी बल पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
रनआउट र स्टम्पिङसम्बन्धी नियमलाई पनि स्पष्ट पारिएको छ। बलमा फिल्डर वा विकेटकिपरको पूर्ण नियन्त्रण नभएसम्म बलले स्टम्पमा छोएर बेल्स खस्नु मात्रले रनआउट वा स्टम्पिङ मान्य नहुने व्यवस्था गरिएको छ।
आईसीसीका परिमार्जित खेल नियमहरू १ अक्टोबर २०२६ देखि लागू भएका छन्।
.gif)

.png)


