वैदेशिक रोजगारीको नाममा ठगी र रकम अपचलनको आरोपमा पूर्वमन्त्रीसहित ६ पक्राउ


२०८३ मङ्सिर २ बुधबार २१:२१ बजे

काठमाडौं : वैदेशिक रोजगारीका नाममा गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोपमा नेपाल प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् ।

त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ पनि पक्राउ परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न निकायबाट प्राप्त पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरिएको थियो ।

संकलित रकममध्ये अमेरिकी डलर र बेलायती पाउन्डसमेत ठूलो परिमाणमा मलेसिया पठाउने निर्णयमा उनीहरू संलग्न रहेको आरोप छ ।

सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराएको प्रहरीको भनाइ छ ।

यसबाट देशको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने निर्णय गरी संगठित समूहको लाभका लागि पद तथा जिम्मेवारीको दुरुपयोग गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

गैरकानुनी रूपमा संकलित रकम कानुनी उपचारबिना मलेसिया पठाउने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीले काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएको थियो ।

उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७