खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ, यसरी बनाउँथे सिकार
काठमाडौं : मोबाइल वालेट ‘खल्ती’को कर्मचारी भएको भन्दै सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले आफूलाई खल्तीको कर्मचारी भन्दै सेवाग्राहीलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए।
उनीहरूले ‘तपाईंको केवाईसी अद्यावधिक गर्नुपर्ने छ, नत्र वालेट बन्द हुन्छ’ भन्दै सेवाग्राहीलाई त्रसित पार्ने गरेको खुलेको छ।
त्यसैगरी, बैंक खाता वालेटमा जोडिदिने, व्यावसायिक खातामा रकम प्राप्त हुँदा आवाज सुनाउने विद्युतीय उपकरण उपलब्ध गराइदिने तथा रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने बनाइदिने जस्ता प्रलोभन देखाउने गरेको प्रहरीले जनाएको छ।
यसरी विश्वासमा पारेपछि उनीहरूले सेवाग्राहीलाई मोबाइलको पर्दा साझा गर्न लगाउने र एकपटक प्रयोग गर्न मिल्ने गोप्य सङ्केतसमेत प्राप्त गर्ने गरेको प्रहरीको भनाइ छ।
त्यसपछि बैंक खातामा अनधिकृत पहुँच पुर्याएर रकम ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रविधिको प्रयोग गरेर गरिने यस्ता ठगीबाट जोगिन अपरिचित व्यक्तिले फोन वा भिडियो कलमार्फत मागेको अवस्थामा पर्दा साझा नगर्न र गोप्य सङ्केत उपलब्ध नगराउन प्रहरीले आग्रह गरेको छ।
मोबाइल वालेट वा बैंकको कर्मचारी भएको दाबी गर्ने व्यक्तिको पहिचान आधिकारिक माध्यमबाट पुष्टि नगरी आफ्नो बैंकिङ विवरण उपलब्ध गराउनु जोखिमपूर्ण हुने भएकाले सेवाग्राहीलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको छ।
.gif)

.png)



