उदयपुरमा २४६ बोरामा लुकाइएको ७ हजार ८२६ किलो गाँजा बरामद
काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालको इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको जाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरो, नं. ४ गण सुनसरी र नं. ५ गण उदयपुरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा गाँजा फेला पारेको थियो ।
ट्रकमा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाँजा र ट्रक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेको छ ।
अभियानअन्तर्गत विभिन्न प्रकारका लागुऔषध बरामद गर्नुका साथै लागुऔषध दुर्व्यसन र अवैध कारोबार नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको उनले बताए ।
.gif)

.png)




