औषधि पसलबाट लागुऔषध कारोबार

औषधि पसलबाट ७ हजारभन्दा बढी लागुऔषधका चक्की बरामद


२०८३ कार्तिक ८ शनिबार ०८:४० बजे

पोखरा : पोखरामा औषधि पसल सञ्चालनको आवरणमा प्रतिबन्धित लागुऔषधको कारोबार भइरहेको फेला परेको छ। पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट प्रहरीले चार प्रकारका ७ हजार १६० चक्की औषधि बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार औषधि पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई लागुऔषधसहित पक्राउ गरिएको हो।

लागुऔषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि बुधबार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पसलमा जाँच गरेको थियो। जाँचका क्रममा सञ्चालिकाको साथबाट ठूलो परिमाणमा लागुऔषधजन्य औषधि फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कोडिप–पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्रकुमार पासवानले औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै यति ठूलो परिमाणमा लागुऔषधजन्य औषधि बरामद हुनुले बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको बताए।

पक्राउ परेकी सञ्चालिकामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखरामा यसअघि पनि विभिन्न औषधि पसलबाट लागुऔषधको अवैध कारोबार हुने गरेको फेला परेको थियो। पछिल्लो घटनाले औषधिको बिक्री वितरणमा निगरानी र नियमन थप प्रभावकारी बनाउनुपर्ने विषयलाई फेरि उठाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७