लागुऔषध राखेको भिडिओ भाइरल भएपछि सशस्त्र प्रहरीले दियो स्पष्टीकरण
काठमाडौं : सुनसरीमा लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि सशस्त्र प्रहरीले स्पष्टीकरण दिएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कात्तिक ४ गते सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ बाट मोटरसाइकलसहित लागुऔषध बरामद गरेको थियो।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको टोलीले प्रदेश १–०२–०४७ प १४७२ नम्बरको मोटरसाइकल पछ्याएको थापाले बताएका छन्।
नहर चोकबाट करिब ५० मिटर उत्तरपूर्वमा मोटरसाइकल पार्क गरिएको अवस्थामा फेला परेको र चालक भने नभेटिएको सशस्त्र प्रहरीको भनाइ छ।
त्यसपछि सुरक्षाकर्मीले मोटरसाइकललाई करिब १५ देखि २० मिटर दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गतिर निकालेर जाँच गरेको थापाले जानकारी दिएका छन्।
जाँचका क्रममा करिब ५० देखि ५५ जना स्थानीय भेला भएर सुरक्षाकर्मीको काममा अवरोध गरेको सशस्त्र प्रहरीको दाबी छ। केही व्यक्तिले बरामद लागुऔषध खोस्ने र प्रमाण नष्ट गर्ने प्रयास गरेको थापाले बताएका छन्।
त्यही क्रममा कालो प्लास्टिकमा रहेको लागुऔषध भुईँमा खसेपछि सुरक्षाकर्मीले टिपेर मोटरसाइकलको पहिलेकै स्थानमा राखेको उनको भनाइ छ।
यही दृश्यलाई सुरक्षाकर्मीले आफैँ लागुऔषध राखेर कसैलाई फसाउन खोजेको भन्दै प्रचार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार मोटरसाइकल जाँच गर्दा नाइट्राभेट ट्याब्लेट १० पत्ता, ट्रामाडोल १६ पत्ता र अन्य लागुऔषध चार थान बरामद भएको थियो।
बरामद मोटरसाइकल र लागुऔषध आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनाको भिडिओ सार्वजनिक भएपछि स्पष्टीकरण दिँदै सशस्त्र प्रहरीले लागुऔषध तथा तस्करी नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने उद्देश्यले घटनालाई अतिरञ्जित रूपमा प्रचार गरिएको दाबीसमेत गरेको छ।
सशस्त्र प्रहरीले भुईँमा खसेको लागुऔषधको पोको टिपेर मोटरसाइकलमा राखिएको दृश्यलाई गलत अर्थमा प्रचार गरिएको दाबी गरेको छ।
.gif)

.png)



