ग्यासको ३० प्रतिशत व्यावसायिक मूल्यमा बेच्न उद्योगीलाई निगमको प्रस्ताव
काठमाडौं : घरायसी र व्यावसायिक प्रयोजनका ग्यासको मूल्य तथा प्रयोग व्यवस्थित गर्न नेपाल आयल निगमले नयाँ नीति अघि सारेको छ ।
निगमले ग्यास उद्योगहरूलाई उनीहरूको मासिक कोटाको ३० प्रतिशत ग्यास अनिवार्य रूपमा व्यावसायिक मूल्यमा खरिद–बिक्री गर्नुपर्ने प्रस्ताव गरेको हो ।
शुक्रबार निगम र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएको बैठकमा उक्त प्रस्ताव पेस गरिएको थियो ।
प्रस्तावअनुसार व्यावसायिक प्रयोजनका लागि फरक क्षमताका सिलिन्डर बजारमा उपलब्ध नभएसम्म उद्योगहरूले आफ्नो कोटाको ३० प्रतिशत ग्यास निगमबाटै व्यावसायिक मूल्यमा खरिद गर्नुपर्नेछ ।
त्यसरी खरिद गरिएको ग्यास व्यावसायिक प्रयोजनमा मात्रै बिक्री गर्ने वा निश्चित ब्रान्ड तोकेर व्यावसायिक बिक्रीको व्यवस्था मिलाउनुपर्ने प्रस्ताव पनि निगमले अघि सारेको छ । यस विषयमा ग्यास उद्योगीहरूले एक साताभित्र आपसी छलफल गरी निगमलाई आफ्नो धारणा जानकारी गराउने निर्णय भएको छ ।
बैठकमा ग्यास उद्योगहरूको सञ्चालन लागत घटाउने र बजार व्यवस्थापन गर्ने उद्देश्यले उद्योगहरू एकीकरण (मर्जर) मा जाने विषयमा पनि छलफल भएको थियो । त्यस्तै, देशभर एउटै लोगोमा ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने प्रस्तावसमेत बैठकको छलफलमा समेटिएको थियो ।
निगम सञ्चालक समिति सदस्य नमराज घिमिरे र कार्यकारी निर्देशक नागेन्द्र साहको उपस्थितिमा भएको बैठकमा ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दसहित पदाधिकारी सहभागी थिए ।
.gif)

.png)




