नेपालको शान्ति प्रक्रियामा स्विस सहयोगको राष्ट्रपति पौडेलद्वारा प्रशंसा
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानका लागि स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन् ।
नेपाल भ्रमणमा रहेका स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।
भेटमा राष्ट्रपति पौडेलले नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले निरन्तर पुर्याउँदै आएको सहयोग महत्त्वपूर्ण रहेको बताए ।
नेपालको लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक–आर्थिक विकासलाई सुदृढ गर्न स्विट्जरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोगको उनले प्रशंसा गरे ।
राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारको निरन्तर सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ । नेपालको लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक–आर्थिक विकासलाई सुदृढ गर्न स्विट्जरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु ।’
राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डका सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको पनि बताए ।
भेटमा स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका हिमालहरूमा भइरहेको परिवर्तनबारे चर्चा गरेका थिए ।
उनले हिमाली क्षेत्रमा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस क्षेत्रमा स्विट्जरल्यान्डले काम गरिरहेको र नेपालसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।
.gif)

.png)




