लुलाको ऐतिहासिक पुनरागमन : चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित
काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्।
आइतबार भएको दोस्रो चरणको निर्वाचनमा दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै ८० वर्षीय लुलाले ऐतिहासिक जित हासिल गरेका हुन्।
रोयटर्सका अनुसार ९८.२७ प्रतिशत मतगणना सम्पन्न हुँदा लुलाले ५१.७५ प्रतिशत मत प्राप्त गरेका थिए भने फ्लाभियोले ४८.२५ प्रतिशत मत पाएका थिए।
पहिलो चरणमा अग्रता लिएका फ्लाभियोलाई दोस्रो चरणमा पछि पार्दै लुलाले चुनावी नतिजा उल्ट्याएका हुन्।
यस जितसँगै लुला ब्राजिलको आधुनिक लोकतान्त्रिक इतिहासमा चार पटक राष्ट्रपति निर्वाचित हुने पहिलो नेता बनेका छन्।
सन् १९८५ मा देशमा लोकतन्त्र पुनःस्थापित भएयता पहिलो चरणमा दोस्रो स्थानमा रहेका उम्मेदवारले दोस्रो चरणमा जित हासिल गरेको यो पहिलो घटना भएको समाचारमा उल्लेख छ।
निर्वाचनका क्रममा सार्वजनिक यातायातमा देखिएका समस्याका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन भएपछि मतदानको समय दुई घण्टा थपिएको थियो।
केही मतदान केन्द्रमा सर्वोच्च अदालतको आदेश ढिलो गरी पुगेपछि निर्वाचन प्रक्रियाबारे अन्योलसमेत उत्पन्न भएको थियो। यद्यपि, मतगणनाले लुलाको जित सुनिश्चित गरेको छ।
मजदुर आन्दोलनबाट राष्ट्रपति भवनसम्म
धातु कारखानामा कामदारका रूपमा जीवन सुरु गरेका लुलाको राजनीतिक यात्रा ट्रेड युनियन आन्दोलन हुँदै राष्ट्रपतिको पदसम्म पुगेको हो।
उनले सन् २००२ को निर्वाचन जितेर सन् २००३ मा पहिलोपटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। सन् २००६ मा पुनः निर्वाचित भएका उनी सन् २०१० सम्म लगातार दुई कार्यकाल राष्ट्रपति बने।
उनको पहिलो दुई कार्यकालमा गरिबी न्यूनीकरण, भोकमरी नियन्त्रण र न्यून आय भएका परिवारलाई लक्षित सामाजिक कल्याणकारी कार्यक्रम विस्तारमा जोड दिइएको थियो।
भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि लुला सन् २०१८ मा जेल परेका थिए। तर, पछि अदालतले उनका मुद्दासम्बन्धी फैसला रद्द गरेपछि उनी पुनः राजनीतिमा सक्रिय भए।
सन् २०२२ को निर्वाचनमा तत्कालीन राष्ट्रपति ज्यार बोल्सोनारोलाई पराजित गर्दै तेस्रो कार्यकालका लागि निर्वाचित भएका उनले सन् २०२३ मा पदभार ग्रहण गरेका थिए।
यसपटकको जितले लुलाको राजनीतिक पुनरागमनलाई थप ऐतिहासिक बनाएको छ।
बोल्सोनारो परिवारको सत्ता फर्किने प्रयास असफल
सन् २०१९ देखि २०२३ सम्म ब्राजिलको राष्ट्रपति रहेका ज्यार बोल्सोनारो पूर्वसैनिक तथा दक्षिणपन्थी नेता हुन्।
अपराध नियन्त्रणमा कडा नीतिको वकालत, कोभिड महामारी व्यवस्थापन र अमेजन वन संरक्षणसम्बन्धी विवादका कारण उनको कार्यकाल चर्चामा रहेको थियो।
सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि बोल्सोनारोका समर्थकहरूले निर्वाचन परिणामविरुद्ध प्रदर्शन गरेका थिए।
निर्वाचन परिणाम उल्ट्याउने प्रयाससँग सम्बन्धित सत्ता पलटको षड्यन्त्रमा दोषी ठहर भएपछि बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको थियो।
उनका छोरा फ्लाभियोले यसपटक राष्ट्रपतिको उम्मेदवार बनेर परिवारको राजनीतिक विरासतलाई निरन्तरता दिन खोजेका थिए। तर, लुलासँगको पराजयले उनको तत्कालको सत्तारोहणको प्रयास रोकिएको छ।
अर्थतन्त्र र अमेरिकी सम्बन्धमा चुनौती
लुलाको नयाँ कार्यकालमा सामाजिक सुरक्षा कार्यक्रम, रोजगारी सिर्जना र आर्थिक असमानता न्यूनीकरण प्रमुख प्राथमिकतामा रहने अपेक्षा गरिएको छ। यद्यपि, सार्वजनिक ऋण, ब्याजदर र आर्थिक वृद्धिसम्बन्धी चुनौतीले उनको सरकारलाई दबाबमा राख्न सक्छ।
अमेरिकासँगको सम्बन्ध पनि उनको आगामी कार्यकालको महत्त्वपूर्ण विषय हुनेछ। फ्लाभियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट सम्बन्ध र दक्षिणपन्थी नीतिको पक्ष लिएका थिए।
लुलाले भने ब्राजिलको विदेश नीतिमा स्वतन्त्रता कायम राख्दै चीनलगायतका देशसँग सम्बन्ध विस्तारमा जोड दिँदै आएका छन्।
निर्वाचनबाट नयाँ जनादेश पाए पनि दक्षिणपन्थी प्रभाव बलियो रहेको संसद्मा सहकार्य जुटाउनु लुलाका लागि महत्त्वपूर्ण चुनौती हुनेछ।
सामाजिक कार्यक्रम अघि बढाउने, अर्थतन्त्रलाई स्थिर राख्ने र राजनीतिक ध्रुवीकरण कम गर्ने विषयले उनको चौथो कार्यकालको दिशा निर्धारण गर्नेछन्।
.gif)

.png)



