भोटेकोशी विपत्तिपछि राष्ट्रपति सीको असाधारण सक्रियता : संकटमा नेता कसरी उभिनुपर्छ ?

घटनास्थलमा तत्कालै प्रधानमन्त्री पठाए, लगत्तै डाके कम्युनिस्ट पार्टीको आकस्मिक बैठक


२०८३ भदौ १३ शनिबार ०८:१२ बजे

काठमाडौं : नेपाल–चीन सीमाक्षेत्रमा गत बुधबार आएको बाढी र पहिरोले दुवै देशलाई प्रभावित बनायो। नेपालतर्फ भोटेकोशी र त्रिशूली नदी प्रणालीमा ठूलो क्षति भयो भने चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत केरुङ काउन्टीमा पहिरो र बाढीले सीमा क्षेत्र तथा पूर्वाधार प्रभावित बनायो।

घटनापछि दुवै देशले खोज तथा उद्धारलाई प्राथमिकता दिएका छन्। नेपालमा सुरक्षा निकाय र राज्यका विभिन्न संयन्त्र उद्धार तथा राहतमा परिचालित छन्। चीनतर्फ पनि स्थानीय प्रशासनदेखि केन्द्रीय सरकारसम्मका निकाय उद्धार तथा राहतमा सक्रिय छन्।

यस घटनामा चीनतर्फको प्रतिक्रिया भने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासोको विषय बनेको छ। विशेषगरी राष्ट्रपति सी जिनपिङले विपत्तिपछि दिएको निर्देशन, प्रधानमन्त्री ली छ्याङको समन्वय र उच्च अधिकारीलाई घटनास्थलमा पठाइएको विषयलाई चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ रिपोर्ट गरेका छन्। यसलाई चीनको राजनीतिक प्रणालीसँग जोडेर मात्र हेर्नुभन्दा संकटको समयमा राष्ट्रको सर्वोच्च राजनीतिक नेतृत्वले कसरी राज्य संयन्त्र परिचालन गर्छ भन्ने दृष्टिले हेर्न सकिन्छ।

विपत्ति लगत्तै निर्देशन

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बाढी र पहिरोको जानकारी आएपछि राष्ट्रपति सीले खोज तथा उद्धारलाई प्राथमिकता दिन, प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा सार्न र थप क्षति हुन नदिन निर्देशन दिएका थिए। विपत्ति लगत्तै चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले घटनालाई उच्च प्राथमिकतामा राखेको थियो। राष्ट्रपति सीले उद्धार तथा आपत्कालीन व्यवस्थापनका लागि तत्काल महत्वपूर्ण निर्देशन दिएका थिए।

सीको निर्देशनअनुसार चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पोलिटब्युरो स्थायी समितिका सदस्य एवं प्रधानमन्त्री ली छ्याङ प्रभावित क्षेत्रमा पुगेका थिए। उनले प्रभावित नागरिक तथा उद्धार र राहतमा खटिएका कर्मचारीसँग भेट गर्नुका साथै उद्धार तथा आपत्कालीन व्यवस्थापन कार्यको स्थलगत निरीक्षण गरेका थिए।

त्यसैगरी, पोलिटब्युरो सदस्य एवं उपप्रधानमन्त्री झाङ गुओछिङ पनि घटनास्थल पुगेर उद्धार तथा विपद् व्यवस्थापन कार्यको निर्देशन दिएका थिए। सीले घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावित नागरिकको व्यवस्थापनमा जोड दिएका थिए।

विपद्को अवस्थाबारे सही सूचना संकलन र जोखिमको निरन्तर मूल्यांकन गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री ली छ्याङले पनि उद्धार तथा राहतलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। विदेश मन्त्रालयलाई अन्तर्राष्ट्रिय समन्वयमा सक्रिय रहन भनिएको थियो।

राखे कम्युनिस्ट पार्टीको आकस्मिक बैठक

लगत्तै शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को उच्चस्तरीय नेतृत्व बैठकमा बुधबार केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोबाट उत्पन्न परिस्थितिलाई मुख्य एजेण्डा बनाइएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ।

सीपीसी केन्द्रीय समितिको पोलिटब्युरोको बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीसहित स्थायी समिति सदस्यहरू ली छ्याङ, चाओ लेजी, वाङ हुनिङ, काई छी, डिङ स्युएसियाङ र ली सीलगायत नेताहरूले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण गरेका थिए।

राष्ट्रपति सीले विपत्तिबाट भएको क्षतिको समीक्षा गर्दै खोज तथा उद्धार, राहत र प्रभावित क्षेत्रको व्यवस्थापनका लागि आवश्यक कदम चाल्न पार्टी तथा सरकारका सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

विपत्ति अत्यधिक चिसो भएको उच्च हिमाली क्षेत्रमा, भिराला उपत्यका, परिवर्तनशील मौसम, वरपर रहेका धेरै हिमनदी तथा हिमताल र सम्भावित भौगर्भिक जोखिमका बीच भएको बैठकमा उल्लेख गरिएको छ। यस्तो भौगोलिक तथा मौसमजन्य अवस्थाले आपत्कालीन उद्धार कार्यमा ठूलो चुनौती सिर्जना गरेको जनाइएको छ।

बैठकले उद्धारसँग सम्बन्धित सबै निकाय तथा विभागलाई दृढ र प्रभावकारी उपाय अपनाउन निर्देशन दिएको छ। खोज तथा उद्धारका योजना वैज्ञानिक ढंगले तयार पार्न तथा बेपत्ता भएका सबै चिनियाँ र विदेशी नागरिकको खोजी तथा उद्धारका लागि सक्दो प्रयास गर्न बैठकले जोड दिएको छ।

सीको दोस्रो ध्यान : ब्यारियर लेक

बाढीपछि केरुङ क्षेत्रमा अर्को जोखिम देखा पर्‍यो। पहिरोले नदीको बहाव अवरुद्ध गरेपछि अस्थायी ताल बनेको थियो। यस्तो ताललाई सामान्यतया ब्यारियर लेक भनिन्छ। तालमा पानी जम्मा हुँदै गएपछि बाँधजस्तो बनेको प्राकृतिक संरचना कमजोर भएमा अचानक पानी बाहिरिन सक्ने जोखिम हुन्छ।

यही जोखिमलाई चीनले प्रारम्भिक उद्धारसँगै निगरानीको विषय बनाएको देखिन्छ। शुक्रबार बसेको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय बैठकमा सीले पहिरोबाट बनेको ताल र आसपासका पहाडको स्थिरतामा नजिकबाट निगरानी राख्न निर्देशन दिएका थिए।

सिन्ह्वाका अनुसार उनले थप विपद् हुन नदिन प्रभावकारी उपाय अपनाउन भनेका थिए। यो निर्देशनको समय महत्वपूर्ण छ। प्रारम्भिक बाढीको उद्धार जारी रहँदै गर्दा अर्को सम्भावित जोखिमलाई समेत उच्चस्तरीय निर्णय प्रक्रियामा समावेश गरिएको थियो।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसका अनुसार ब्यारियर लेकको पानी बढेपछि चिनियाँ उद्धार टोलीले केही समय काम रोकेको थियो। हवाई निरीक्षण तथा जोखिम मूल्यांकनपछि अवस्था तुलनात्मक रूपमा सुरक्षित देखिएपछि उद्धार पुनः सुरु गरिएको थियो।

यसले विपद् व्यवस्थापनमा अर्को महत्वपूर्ण पक्ष देखाउँछ—उद्धारको गति मात्र होइन, उद्धारका क्रममा उत्पन्न हुन सक्ने जोखिमको मूल्यांकन पनि उत्तिकै आवश्यक हुन्छ।

घटनास्थलमा उच्च अधिकारी

राष्ट्रप्रमुख स्वयं घटनास्थलमा पुग्नु र नपुग्नु मात्रै संकट नेतृत्वको मापदण्ड होइन। चीनको घटनामा राष्ट्रपति सीले बेइजिङबाट निर्देशन दिए भने प्रधानमन्त्री र उपप्रधानमन्त्री तहका अधिकारीले प्रशासनिक तथा स्थलस्तरीय समन्वयको जिम्मेवारी लिए।

यस प्रकारको संरचनामा राष्ट्रप्रमुखको मुख्य भूमिका रणनीतिक प्राथमिकता निर्धारण गर्ने र राज्यका विभिन्न निकायलाई एउटै उद्देश्यमा परिचालन गर्ने हुन्छ। चीनमा यस्तो निर्देशन पार्टी र सरकारको केन्द्रीय संरचनामार्फत स्थानीय प्रशासनसम्म पुग्ने व्यवस्था छ। यही कारण उच्च राजनीतिक नेतृत्वबाट आएको निर्देशनलाई प्रशासनिक संयन्त्रले तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था देखिन्छ।

तर यसलाई चीनको विशिष्ट राजनीतिक संरचनाबाट अलग गरेर हेर्न मिल्दैन। नेपालको संघीय लोकतान्त्रिक संरचना फरक भएकाले चीनको प्रशासनिक अभ्यासलाई हुबहु लागू गर्न सकिँदैन।

तर विपद्मा कमान्ड स्पष्ट हुनु, जिम्मेवारी तोकिनु र निर्णय कार्यान्वयन गर्ने संयन्त्र तत्काल सक्रिय हुनु भने जुनसुकै राजनीतिक प्रणालीका लागि महत्वपूर्ण विषय हो।

उद्धारमा प्रविधिको प्रयोग

केरुङमा उद्धारका क्रममा चिनियाँ पक्षले प्राविधिक मूल्यांकनलाई समेत प्राथमिकता दिएको अन्तर्राष्ट्रिय रिपोर्टहरूले उल्लेख गरेका छन्।ब्यारियर लेकको अवस्था बुझ्न हवाई सर्वेक्षण र थ्री–डी मोडलिङ प्रयोग गरिएको थियो। यसबाट तालमा पानीको अवस्था र सम्भावित जोखिमको मूल्यांकन गर्न सहयोग पुगेको थियो।

चिनियाँ उद्धार निकायले ड्रोनलगायत उपकरण प्रयोग गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। यसले आधुनिक विपद् व्यवस्थापनमा प्रविधिको भूमिकालाई देखाउँछ। विशेषगरी हिमाली क्षेत्रमा सडक सम्पर्क नहुने, भूभाग अस्थिर हुने र उद्धार टोलीका लागि प्रत्यक्ष निरीक्षण कठिन हुने अवस्थामा ड्रोन, उपग्रह तस्बिर, हवाई सर्वेक्षण र डिजिटल मोडलिङ उपयोगी हुन्छन्।

नेपाल पनि हिमाली भूभागमा यस्ता जोखिमको सामना गर्ने देश हो। त्यसैले भोटेकोशी घटनाले नेपालमा पनि विपद् व्यवस्थापनका लागि प्रविधिमा आधारित पूर्वसूचना र जोखिम मूल्यांकन प्रणालीको आवश्यकतालाई पुनः उजागर गरेको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७