राष्ट्रसंघमा गुटेरेसले भने, जलवायु परिवर्तनको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्याय दिनुपर्छ


२०८३ असोज ७ बुधबार ०८:०९ बजे
UN Secretary General Antonio Guterres speaks during the United Nations General Assembly at the UN headquarters in New York on September 23, 2025. Angela Weiss/AFP/Getty Images

न्युयोर्क : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालको सगरमाथा क्षेत्रबाट जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिन थालेका जोखिमबारे दिएको चेतावनी अहिले नेपालमा देखिएको विपद्ले थप प्रस्ट पारेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई मंगलबार सम्बोधन गर्दै गुटेरेसले हिमालमा तीव्र गतिमा हिउँ पग्लिरहेको अवस्थाप्रति आफूले त्यसबेलै विश्वको ध्यानाकर्षण गराएको स्मरण गरे। 

उनले त्यतिबेला आफूले दिएको चेतावनीलाई कतिपयले अतिरञ्जित भएको भन्दै अस्वीकार गरेको समेत उल्लेख गरे। तर अहिले नेपालमा देखिएका दुःखद घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो र व्यापक रूपमा देखिन थालेको उनको भनाइ थियो।

गुटेरेसले जलवायु परिवर्तनको संकट अब टाढाको भविष्यको विषय नभई विश्वसामु प्रत्यक्ष देखिएको वास्तविकता भएको बताए। ‘तीन वर्षअघि नेपालका हिमालबाट मैले विश्वको छानो खसिरहेको चेतावनी दिएको थिएँ,’ महासभामा उनले भने, ‘अत्यन्तै तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा खतराको घण्टी बजाएको थिएँ।’

नेपालमा पछिल्लो समय भएका बाढी, पहिरो तथा अन्य विपद्का घटनालाई जलवायु परिवर्तनका बढ्दो असरको सन्दर्भमा उल्लेख गर्दै गुटेरेसले कमजोर तथा विकासशील मुलुकहरूले यसको ठूलो मूल्य चुकाउनुपरेको बताए।

उनका अनुसार जलवायु परिवर्तनमा कम जिम्मेवार रहेका देशहरू नै यसको असरबाट बढी प्रभावित भइरहेका छन्।

गुटेरेसले जलवायु परिवर्तनको असर भोगिरहेका कमजोर देशलाई न्याय दिनुपर्नेमा जोड दिए। प्रदूषणमा ठूलो योगदान गर्ने पक्षले त्यसको लागत व्यहोर्नुपर्ने उनको भनाइ थियो।

उनले विकसित देशहरूले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने र जलवायु परिवर्तनसँग अनुकूलनका लागि उपलब्ध वित्तीय सहायता बढाउनुपर्ने बताए।

विशेषगरी हानि तथा नोक्सानी कोषमा पर्याप्त रकम नभएको भन्दै उनले असन्तुष्टि समेत जनाए। जलवायु परिवर्तनबाट प्रभावित देशलाई आवश्यक सहयोग उपलब्ध गराउन उक्त कोषमा पर्याप्त स्रोत जुटाउनुपर्ने उनको भनाइ थियो।

गुटेरेसले जलवायु संकटसँगै विश्वमा द्वन्द्व, असमानता र अन्तर्राष्ट्रिय नियमको कमजोर कार्यान्वयन पनि गम्भीर चुनौतीका रूपमा देखा परेको बताए।

युक्रेन, गाजा, सुडान र म्यानमारलगायतका द्वन्द्वको प्रसंग उठाउँदै अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघीय बडापत्रको सम्मान गर्न उनले आह्वान गरे।

यसैबीच, संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्र न्युयोर्कमा सुरु भएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७