विपत्तिमा एकताबद्ध भएर उभिन राष्ट्रपति पौडेलको आह्वान
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिको सामना गर्न राजनीतिक दलदेखि नागरिकसम्म सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र सम्पूर्ण नागरिकलाई कठिन परिस्थितिमा राष्ट्रिय एकताका साथ उभिन आग्रह गरे।
उनले अहिले एकअर्कामाथि दोषारोपण गर्ने तथा राजनीतिक विवाद र टकरावमा अल्झिने समय नभएको बताए। विपद्बाट भएको क्षतिपछि पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ। राष्ट्रपति पौडेलले विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनासँगै नेपालको विकासको मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने धारणा राखे।
जलवायु परिवर्तनका कारण नेपालजस्ता पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रले भोगिरहेका समस्यालाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर रूपमा लिनुपर्ने उनले बताए। प्रभावित राष्ट्रहरूको आवाज सुन्नेमात्र नभई जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई उनले आह्वान गरे।
प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडा गहिरो रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा आवश्यक रहेको बताए। उनले पीडितका गुनासा तथा मागलाई आलोचनाका रूपमा नलिई समस्या समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा बुझ्न सम्बन्धित पक्षलाई आग्रह गरे।
बाढीपीडितको उद्धार, खोजी, राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई अझ प्रभावकारी बनाउन सरकारका स्थानीय तहसहित सबै निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय भइरहेकोमा आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलले बताए। उद्धार गरिएका प्रत्येक नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा उनले विशेष जोड दिए।
.gif)

.png)

