सामुदायिक विद्यालयमा काठमाडौँ महानगरको ‘साना डाक्टर’ कार्यक्रम
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालय लक्षित ‘साना डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । महानगरका अनुसार कार्यक्रमको सुरुवात चार वटा सामुदायिक विद्यालयमा नमूना रूपमा गरिनेछ ।
कार्यक्रमअन्तर्गत व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली तथा नसर्ने रोग, सरुवा रोग र एन्टिमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्वलगायत विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।
स्वास्थ्य विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपाने भन्छन्, ‘यो कार्यक्रममा व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टिमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्व गरी पाँचवटा विषयमा प्रशिक्षण प्रदान गरिन्छ ।’
सिकाइका क्रममा सहपाठीबीच आपसी अनुभव आदानप्रदान, प्रयोगात्मक अभ्यास, भूमिका निर्वाह तथा अभिलेख र अनुगमनलाई मुख्य विधि बनाइनेछ । पाठ्यक्रममा आधारित तीन महिने तालिमपछि बाँकी नौ महिनासम्म विद्यार्थी समूहगत रूपमा निरोगात्मक स्वास्थ्य प्रवर्द्धनका गतिविधिमा सहभागी हुनेछन् ।
प्रत्येक स्वास्थ्य क्लबमा १५ देखि २० जना छात्रछात्रा समावेश गरिनेछ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, स्वास्थ्य सचेतना विस्तार र सहसिकाइ प्रवर्द्धनका लागि कार्यक्रम उपयोगी हुने बताइन् । उनले भनिन्, ‘विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयन गर्नेलाई बोझ महसुस हुने गरी लैजानु हुँदैन, आवश्यक छ । जसरी पनि कार्यान्वयनमा जानुपर्छ भन्ने तत्परता जागृत गराउनुपर्छ । अनिमात्र कार्यक्रम दिगो र प्रभावकारी हुन्छ । यसको नतिजा ढिलो देखिन्छ । तर, सकारात्मक हुन्छ ।’
कार्यक्रममा सहभागी पक्षले विद्यालयस्तरमा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रमको आवश्यकता पनि औँल्याएका छन् । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘सामुदायिक विद्यालयका विद्यार्थीलाई सकारात्मक प्रतिस्पर्धाका लागि आत्मविश्वाशयुक्त बनाउनु पर्नेछ । यसका लागि पुस्तकरहित शुक्रबारका कार्यक्रमभित्रका कार्यक्रमको प्रभावकारी सिकाइका लागि थप मिहनेत गर्नुपर्नेछ ।’
कार्यशालामा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले नमूना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा विस्तारित योजना तयार गरिने जानकारी दिए ।
‘सम्भवतः यो कार्यक्रम विद्यालयमा पहिलो हुनुपर्छ । यसलाई नतिजा प्रदान गर्ने बनाउँछौँ,’ उनले भने । शिक्षा अधिकृत केशव ज्ञवालीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकलाई कार्यक्रमबारे स्पष्ट जानकारी गराउन सके कार्यान्वयन सहज हुने बताए ।
विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यसम्बन्धी विषयमा प्रशिक्षित गरी स्वास्थ्य दूतका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रमलाई ‘साना डाक्टर’ नाम दिइएको हो । यसमार्फत विद्यार्थी, परिवार र समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको महानगरले जनाएको छ ।
.gif)

.png)

