एनपीएल छाडेर पाकिस्तान फर्किए फरहान : श्रीलंकाविरुद्ध प्लेइङ ११ मै परेनन्
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेटर साहिब्जादा फरहान श्रीलंकाविरुद्धको खेलमा प्लेइङ ११ मा परेका छैनन्।
पाकिस्तान क्रिकेट बोर्डले उनलाई राष्ट्रिय टोलीमा समावेश गरेपछि एनपीएल छाडेर स्वदेश फर्किएका फरहानलाई आजको खेलमा बेन्चमा राखिएको छ।
फरहान चार दिनअघि एनपीएल खेल्न नेपाल आएका थिए। उनी कर्णाली याक्समा आबद्ध छन्।
तर पाकिस्तान क्रिकेट बोर्डले घरेलु मैदानमा जारी श्रीलंका र इंग्ल्यान्ड सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि उनलाई टोलीमा समावेश गरेपछि उनको नेपाल बसाइ छोटिएको थियो।
पाकिस्तानले यसअघि टोलीमा रहेका ओपनर साइम अयुबलाई हटाएर फरहानलाई समावेश गरेको थियो। त्यसपछि बोर्डले इमेलमार्फत उनलाई तत्काल पाकिस्तान फर्किन निर्देशन दिएको थियो।
बोर्डको निर्देशनअनुसार फरहान एनपीएल नखेली बिहीबार पाकिस्तान फर्किएका थिए।
नेपालबाट फर्किएपछि श्रीलंकाविरुद्धको खेलमा फरहानले ओपनिङ गर्ने अपेक्षा गरिएको थियो। तर पाकिस्तानले उनलाई अन्तिम ११ खेलाडीमा समावेश गरेन।
उनको स्थानमा पाकिस्तानले माज सदाकत र फखर जमानलाई ओपनिङमा उतारेको छ। दुवै खेलाडी सस्तैमा आउट भएपछि पाकिस्तानको सुरुआती ब्याटिङ दबाबमा परेको छ।
एनपीएलमा कर्णाली याक्सका लागि खेल्ने तयारीमा रहेका फरहान राष्ट्रिय टोलीमा बोलाइएपछि प्रतियोगिता खेल्न नपाई पाकिस्तान फर्किनुपरेको हो।
.gif)

.png)



