कार्तिक १२ देखि जावलाखेलमा गोदावरी फूलको मेला

४५० भन्दा बढी प्रकारका फूल राखिने


२०८३ कार्तिक ११ मंगलबार १५:४४ बजे

काठमाडौं : तिहार र छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले कार्तिक १२ देखि १६ गतेसम्म जावलाखेल खेल मैदानमा प्रदर्शनी आयोजना गर्न लागेको हो।

एसोसिएसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गोदावरी फूलको व्यावसायिक उत्पादन, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो। प्रदर्शनीमा ८६ वटा कक्ष रहनेछन्।

मेलामा व्यावसायिक रूपमा उत्पादन गरिएका गोदावरी फूलका विभिन्न जात तथा यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिने आयोजकले जनाएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनका अनुसार प्रदर्शनीमा गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा गराइनेछ। यस वर्षदेखि कट फ्लावरअन्तर्गत ‘उत्कृष्ट पुष्प सजावट’ विधासमेत थप गरिएको छ।

विभिन्न विधामा उत्कृष्ट हुने नर्सरी तथा पुष्प उत्पादक फार्मलाई शिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

तिहार र छठमा फूलको माग बढ्ने भएकाले प्रदर्शनीले स्वदेशी फूल उत्पादकलाई बजार विस्तार गर्न तथा उपभोक्तालाई विभिन्न जातका फूलबारे जानकारी लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

यसले स्वदेशी फूलको प्रयोग बढाउन र आयात प्रतिस्थापनमा समेत योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

आयोजकका अनुसार प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार हाल देशभर ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती भइरहेको छ।

पुष्प व्यवसायमा कुल अनुमानित लगानी ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी पुगेको एसोसिएसनले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७