कात्तिक १० देखि मौसम बदली हुने सम्भावना, एनपीएल प्रभावित हुन सक्ने

धान भित्र्याउन किसानलाई आग्रह


२०८३ कार्तिक ८ शनिबार १३:२४ बजे
फाइल फोटो

काठमाडौं : बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीका कारण आगामी कात्तिक १० देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागले त्यसअघि भने देशभरको मौसम सामान्यतया सफा रहने अनुमान रहेको जनाएको छ।

कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने विभागका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य भूभागमा भने वर्षाको सम्भावना न्यून रहेको उनले बताएका छन्।

गत २४ घण्टामा देशका कुनै पनि स्थानमा उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ। तर, कात्तिक १० देखि १५ गतेसम्म बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने देखिएको छ। 

उक्त प्रणालीले देशका अधिकांश भूभागमा कस्तो असर पार्छ र वर्षाको मात्रा कति हुन्छ भन्नेबारे अहिले नै यकिन गर्न नसकिने विभागको भनाइ छ।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै विभागले किसानलाई धान भित्र्याउने काममा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। अहिले धान काट्ने तथा भित्र्याउने समय भएकाले अनुकूल मौसमको सदुपयोग गर्दै सम्भव भएसम्म कात्तिक ७ गतेभित्रै बाली भित्र्याउन किसानलाई सुझाव दिइएको छ।

सम्भावित मौसमी प्रभावले कृषि तथा पर्यटन क्षेत्रसँगै बाह्य कार्यक्रम, भ्रमण र खेलकुद गतिविधिमा समेत असर पार्न सक्ने भएकाले योजना बनाउँदा मौसमको अवस्था बुझ्न विभागले अनुरोध गरेको छ। 

विशेषगरी कात्तिक ८ गतेपछि आयोजना गरिने कार्यक्रम तथा बाहिरी गतिविधिमा सहभागी हुनेहरूले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिनुपर्नेछ।

मौसम बदलीको सम्भावनाले नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगितामा समेत असर पार्न सक्ने आकलन गरिएको छ। यद्यपि, वर्षाको वास्तविक अवस्था र त्यसको प्रभावबारे थप स्पष्ट हुन बाँकी छ।

विभागले आधिकारिक मौसमी जानकारीका लागि आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित सूचना नियमित हेर्न र आवश्यक परे ११५५ नम्बरमा फोन गरेर जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७