स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त
काठमाडौं : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन्।
केही महिनाअघि निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरे खुला प्रतिस्पर्धाबाट उक्त पदमा छनोट भएका हुन्।
उनले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलबाट नियुक्तिपत्र बुझिसकेका छन्।
यसअघि स्टाफ कलेजको कार्यकारी निर्देशकमा मन्त्रिपरिषद्बाट सीधै नियुक्त गर्ने अभ्यास रहेकामा यसपटक खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अपनाइएको हो।
उक्त पदका लागि घिमिरेसहित गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा, बाबुराम अधिकारी र अञ्जु मिश्र संक्षिप्त सूचीमा परेका थिए।
अन्तर्वार्ता, प्रस्तुतीकरण र योग्यता परीक्षणका आधारमा घिमिरेलाई छनोट गरिएको हो।
नेपाल सरकारको विशिष्ट श्रेणीका सचिवका रूपमा लामो अनुभव हासिल गरेका घिमिरेले अर्थ मन्त्रालयमा अर्थ तथा राजस्व सचिवको जिम्मेवारी सम्हालेका थिए।
उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत काम गरिसकेका छन्।
यसका अतिरिक्त उनले कोशी प्रदेशको प्रमुख सचिवका रूपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए।
प्रशासनिक जनशक्तिको क्षमता विकास, प्रशिक्षण तथा सरकारी सेवाको कार्यसम्पादन सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने स्टाफ कलेजको नेतृत्वमा अनुभवी पूर्वप्रशासक नियुक्त भएका हुन्।
.gif)

.png)



