एमालेको राष्ट्रिय भेलाको तयारी तीव्र
३ हजार १६४ जना सहभागी हुने
काठमाडौं : नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ।
भेलामा केन्द्रीय कमिटीदेखि स्थानीय तह, जनसङ्गठन र विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुने भएका छन्।
भेलाको तयारीका लागि सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको छ।
बैठकमा भेलालाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने विषयमा छलफल भएको थियो।
बैठकमा उपाध्यक्षद्वय विष्णु पौडेल र रघुजी पन्त, महासचिव शङ्कर पोखरेल तथा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाललगायत नेताहरू सहभागी थिए।
बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा साझा बुझाइ विकास गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको बताए।
उनले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको निर्णयअनुसार पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने र नेता–कार्यकर्तालाई आगामी स्थानीय तहको निर्वाचनको तयारीमा परिचालित गर्ने बताए।
‘२०८२ सालको निर्वाचनको परिणाम क्षणिक र अस्थायी धक्का हो भन्ने हाम्रो बुझाइलाई व्यवहारबाट प्रमाणित गर्नुपर्छ,’ पौडेलको भनाइ थियो।
उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिए।
पौडेलले राजनीतिक परिस्थितिअनुसार पार्टीले सडक आन्दोलन र निर्वाचन दुवैका लागि तयारी गर्नुपर्ने बताए।
राष्ट्रिय भेलामार्फत पार्टी पङ्क्तिलाई उत्साहित र सक्रिय बनाउँदै आगामी राजनीतिक चुनौती सामना गर्न तयार पारिने उनको भनाइ थियो।
बैठकमा महासचिव पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गरे।
भेलाको सन्देश पार्टी पङ्क्ति हुँदै जनस्तरसम्म पुर्याउन व्यापक प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए।
सङ्गठन विभाग प्रमुख ढकालले भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराएका थिए।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्गठन तथा विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहने उनले बताए।
एमालेले राष्ट्रिय भेलालाई पार्टीभित्र साझा बुझाइ र एकता सुदृढ गर्ने तथा आगामी निर्वाचन र राजनीतिक गतिविधिका लागि नेता–कार्यकर्तालाई परिचालित गर्ने अवसरका रूपमा अघि सारेको छ।
.gif)

.png)




