एक्स्ट्रिम इनर्जी ड्रिंक्स बन्यो एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

तीन वर्षका लागि सम्झौता, नेपाली क्रिकेटमा निजी क्षेत्रको सम्भवतः सबैभन्दा ठूलो व्यावसायिक साझेदारी


२०८३ असार २२ सोमबार १९:५५ बजे

काठमाडौं,। एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको तेस्रो संस्करणका लागि ८ मध्ये ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ। यसलाई नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको सम्भवतः सबैभन्दा ठूलो साझेदारीका रूपमा हेरिएको छ।

सम्झौताअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग तीन वर्षका लागि टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्नेछ। टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा कम्पनीको लोगो रहनेछ।

सोमबार आयोजित विशेष कार्यक्रममा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, ६ वटै फ्रेन्चाइजका प्रतिनिधि तथा एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

कार्यक्रममा क्यान अध्यक्ष चन्दले यस्तो सहकार्यले नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको भविष्य उज्ज्वल बनाउन र समग्र क्रिकेट संरचनालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले एनपीएलजस्तो प्रतिष्ठित प्रतियोगिताका ६ टोलीसँग टाइटल स्पोन्सरका रूपमा जोडिन पाउनु कम्पनीका लागि गर्वको विषय भएको बताउँदै यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि भएको उल्लेख गरे।

एक्स्ट्रिम इनर्जी ड्रिंक्स विगत केही वर्षदेखि नेपाली खेलकुदमा सक्रिय रूपमा लगानी गर्दै आएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहकार्य गर्दै आएको छ।

दसैंपछि हुने एनपीएलको तेस्रो संस्करणअघि भएको यो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको बढ्दो आकर्षण र विश्वासलाई थप बलियो बनाएको छ। कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि र खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएको छ

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७