प्रहरीको निगरानी छल्न फल्स बटमदेखि शरीरमा लुकाएर लागूऔषध ओसारपसार
धरान : प्रहरी र स्थानीयवासीले लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन गरिरहे पनि धरानमा यसको प्रयोग तथा कारोबार चुनौतीका रूपमा देखिएको छ।
इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका छन्।
आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म धरानमा विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन्। तीमध्ये लागूऔषधसम्बन्धी मुद्दाको संख्या सबैभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख भीषणबाबु राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न कसुरका ५१७ मुद्दा दर्ता भएका थिए। उक्त वर्ष ५८१ पुरुष र ६८ महिला पक्राउ परेका थिए।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ४९४ मुद्दा दर्ता हुँदा ५०९ पुरुष र ४७ महिला पक्राउ परेका थिए। चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म १६१ मुद्दा दर्ता भएका छन्।
यस अवधिमा १०३ पुरुष र आठ महिलासहित १११ जना पक्राउ परेको प्रमुख राईले जानकारी दिए।
प्रहरीको तथ्याङ्कमा लागूऔषधसँगै अभद्र व्यवहार, बैंकिङ कसुर, कर्तव्य ज्यान, चोरी, बहुविवाह, भवितव्य ज्यान र जबरजस्ती करणीसहित विभिन्न प्रकृतिका कसुरसम्बन्धी मुद्दा पनि समावेश छन्।
धरानमा लागूऔषधको प्रयोग तथा कारोबारमा ज्याला मजदुरी गर्ने र बेरोजगार युवाको संलग्नता बढी देखिएको प्रहरीले जनाएको छ। उमेर समूहका आधारमा १५ देखि ५५ वर्षसम्मका व्यक्ति यसमा बढी संलग्न रहेको प्रहरीको भनाइ छ।
लागूऔषध कारोबारीले प्रहरीको निगरानी छल्न विभिन्न उपाय अपनाउने गरेको पनि पाइएको छ। उनीहरूले सवारीसाधनमा लागूऔषध लुकाउने, सवारीसाधनमा फल्स बटम बनाउने तथा शरीरका विभिन्न भागमा लुकाएर ओसारपसार र बिक्री वितरण गर्ने गरेको इलाका प्रहरी कार्यालयका प्रमुख राईले बताए।
लागूऔषध नियन्त्रणका लागि प्रहरी र स्थानीयस्तरबाट विभिन्न प्रयास भइरहे पनि यससम्बन्धी मुद्दा ठूलो संख्यामा दर्ता हुनुले समस्या नियन्त्रणमा थप चुनौती रहेको देखाउँछ।
.gif)

.png)



