बाहिरियो मनसुन, दसैँमा घमाइलो हुने पूर्वानुमान


२०८३ असोज २८ बुधबार १५:१९ बजे
फाइल फोटो

काठमाडौं : नेपालबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार असोज २८ गते देशका सबै भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो।

महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो। त्यसको ११ दिनपछि बुधबार मनसुन पूर्ण रूपमा बाहिरिएको हो।

नेपालमा सामान्यतया जुन १३ अर्थात् जेठ ३० गते मनसुन भित्रिने र अक्टोबर २ अर्थात् असोज १६ गते बाहिरिने गर्छ। तर यस वर्ष जुन १९ अर्थात् असार ५ गते मात्रै मनसुन भित्रिएको थियो।

यसरी मनसुन भित्रिने मितिभन्दा ढिलो सुरु भएको यस वर्षको मनसुन औसत मितिभन्दा १२ दिनपछि बाहिरिएको महाशाखाले जनाएको छ।

यस वर्ष मनसुन बाहिरिने सरदर अवधिमा नेपालमा सरदर वर्षा भएको छ। यद्यपि, भौगोलिक क्षेत्रअनुसार वर्षाको मात्रा र प्रतिशत फरक रहेको छ। तराई र पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको जनाइएको छ।

मनसुन अवधिमा देशका विभिन्न क्षेत्रमा वर्षाको वितरण समान नरहे पनि समग्रमा सरदर वर्षा भएको मौसमसम्बन्धी विवरणले देखाएको छ।

नेपालबाट मनसुन बाहिरिएसँगै आगामी केही दिन मौसम सामान्यतया घमाइलो रहने पूर्वानुमान गरिएको छ। मौसमविद्का अनुसार पहाडी भेगका एक–दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने भए पनि समग्रमा मौसम अनुकूल रहनेछ।

दसैँका बेला टीका लगाउन, आफन्त तथा परिवारजनसँग भेटघाट गर्न र यात्रा गर्नुपर्ने सर्वसाधारणका लागि घमाइलो मौसमले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

यद्यपि, स्थानीय वायुमण्डलीय अवस्थाका कारण केही स्थानमा मौसममा परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम पूर्वानुमानमा ध्यान दिनु उपयुक्त हुनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७