लोकगायिका रिता थापामगर कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित
काठमाडौं : लोक तथा दोहोरी गायिका रिता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै उनी केन्द्रीय सदस्यमा विजयी भएकी हुन्।
खुला महिलातर्फ केन्द्रीय सदस्यका १५ पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। उनीहरूलाई पछि पार्दै थापामगर केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
निर्वाचित भएपछि थापामगरले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै आफूलाई साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्।
उनले यो निर्वाचन आफ्नो लागि पद प्राप्तिको विषयमा मात्र सीमित नरहेको उल्लेख गरेकी छन्।
‘यो निर्वाचन मेरा लागि पद प्राप्तिको विषय मात्र होइन, लामो समयदेखि नेपाली कांग्रेसप्रति राख्दै आएको आस्था, राजनीतिक प्रतिबद्धता, सामाजिक उत्तरदायित्व र नेपाली कला, संस्कृति तथा लोकसङ्गीतको क्षेत्रमा गरेको यात्राको एउटा महत्त्वपूर्ण उपलब्धि पनि हो,’ उनले लेखेकी छन्।
दुई दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थापामगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्षसमेत हुन्।
लोकसङ्गीतको क्षेत्रमा स्थापित पहिचान बनाएकी थापामगरको कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुलाई उनको सांगीतिक यात्रासँगै राजनीतिक यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
.gif)

.png)



