सानेपाबाट गगनको संकल्प : कांग्रेस छाडेकालाई फर्काउँछौं, नागरिकको विश्वास जित्छौं

‘मतगणनासँगै जय र पराजयको कुरा सकिनुपर्छ’


२०८३ असोज २४ शनिबार १५:१३ बजे

काठमाडौं :  नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएसँगै सबै नेता–कार्यकर्ता एकताबद्ध भएर नागरिकको विश्वास जित्ने अभियानमा जुट्नुपर्ने बताएका छन् ।

१५औँ महाधिवेशनबाट सभापति निर्वाचित भएपछि शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सम्बोधन गर्दै थापाले महाधिवेशनको प्रतिस्पर्धालाई जितहारमा सीमित गर्न नहुने बताए । अब सबैको साझा लक्ष्य नागरिकको विश्वास जित्नु हुनुपर्ने उनको भनाइ छ । ‘यो महाधिवेशनको मतगणना सकिने कुरासँगै जय र पराजयको कुरा पनि सकिनुपर्छ । किनकि अब यहाँ हामी सबैले जित्ने हो । त्यो जित भनेको नागरिकको विश्वास जित्ने हो,’ थापाले भने ।

आफूसँग सभापति पदमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीप्रति आभार व्यक्त गर्दै उनले खड्गीसहित प्रतिस्पर्धामा सहभागी नभएका र असन्तुष्ट रहेका सबैलाई सँगै लिएर अघि बढ्ने प्रतिबद्धता जनाए । प्रतिस्पर्धाले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

थापाले विगतमा पार्टीले गरेका कामप्रति असन्तुष्टि जनाउँदै कांग्रेसबाट टाढिएका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई पुनः पार्टीमा फर्काउने घोषणा पनि गरे । ‘लाखौँ मानिसले वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभयो, तर केही वर्षअघिदेखि हामीले गरेका काम चित्त नबुझाएर छाडेर जानुभएको छ । ती साथीहरूलाई हामी फर्काउँछौँ,’ उनले भने ।

कांग्रेसलाई फेरि नागरिकले आफ्नै पार्टीका रूपमा अपनाउने वातावरण बनाउने बताउँदै थापाले पार्टीको काम गर्ने शैली नै बदल्नुपर्नेमा जोड दिए । उनका अनुसार नेता तथा कार्यकर्ताको भरोसा बलियो बनाउनुका साथै किसान, उद्योगी, व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत विश्वास गर्ने पार्टी निर्माण गर्नुपर्नेछ । ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ,’ थापाले भने, ‘नयाँ इतिहास बनाउने तागत लिएर आएका छौँ ।’

उनले पार्टीमा कसैलाई पनि जिम्मेवारीविहीन नराख्ने बताए । कांग्रेसलाई व्यक्तिगत स्वार्थ र लाभको माध्यम बनाउने प्रवृत्तिबाट मुक्त गर्दै सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए ।

महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट आगामी कार्ययोजना बनाउने बताए । सभापतिमा निर्वाचित भएपछि थापाले पार्टीभित्रको एकता कायम राख्दै नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्ने र परिवर्तनलाई भाषणमा नभई कामबाट प्रमाणित गर्ने आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७