जीवनको लडाइँ जितेका भण्डारी, कांग्रेसमा पनि जितको नजिक
शेखर समूहमा हारे, गगन समूहमा जितको नजिक
काठमाडौं : जीवन र राजनीति दुवैमा कठिन मोड पार गरेका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पार्टीको उपसभापति बन्ने दौडमा बलियो अवस्थामा पुगेका छन् । १४औँ महाधिवेशनमा यही पदमा पराजित भएका उनी यसपटकको मतगणनामा अग्रस्थानमा देखिएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनामा भण्डारीले प्रतिस्पर्धीभन्दा उल्लेख्य मतान्तर बनाएका छन् । करिब पाँच हजार मत गणना हुँदा पनि उनले अग्रता कायम राखेको विवरण प्राप्त भएको छ । बाँकी मतमा पनि यही प्रवृत्ति कायम रहे उनी उपसभापतिमा निर्वाचित हुने सम्भावना बलियो छ ।
भण्डारीको यो प्रगति केवल एउटा पदको प्रतिस्पर्धा होइन, अघिल्लो महाधिवेशनको पराजयपछि पार्टीभित्र आफ्नो स्थान स्थापित गर्ने प्रयासको परिणाम पनि हो । यसपटक उनी गगन थापा नेतृत्वको समूहसँग जोडिएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
मृत्युको मुखबाट फर्किए, राजनीतिमा फेरि उभिए
भण्डारीको जीवनमा साढे तीन वर्षअघि ठूलो बज्रपात परेको थियो । काठमाडौंस्थित निवासमा भएको आगलागीमा उनी गम्भीर घाइते भए । उक्त घटनामा उनकी आमाको मृत्यु भयो । भण्डारीले भने नेपाल र भारतमा उपचार गराएर नयाँ जीवन पाए ।
शारीरिक रूपमा गम्भीर संकटबाट गुज्रिएपछि पनि उनले सार्वजनिक जीवन र राजनीतिबाट दूरी बनाएनन् । आफ्नो जीवनको दोस्रो अवसरलाई अर्थपूर्ण बनाउने संकल्पसहित उनी पुनः राजनीतिक गतिविधिमा सक्रिय भए ।
तर, आगलागीबाट बाँचेको अर्को वर्ष भएको कांग्रेसको १४औँ महाधिवेशनमा उनलाई सफलता मिलेन । उपसभापति पदमा प्रतिस्पर्धा गरेका उनी १ हजार ५८० मतमा सीमित भए । त्यसयता पार्टीभित्रको समीकरण फेरियो र अहिले उनी त्यही पदमा निर्वाचित हुने सम्भावनाको नजिक पुगेका छन् ।
पाँच वर्षअघिको हार, यसपटक फराकिलो अग्रता
२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा भण्डारी डा. शेखर कोइराला समूहबाट उपसभापतिको उम्मेदवार बनेका थिए । त्यसबेला पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भएका थिए । खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत पाएका थिए ।
गुरुङले विजयकुमार गच्छदारलाई जम्मा दुई मतले हराएका थिए । गच्छदारले १ हजार ९०६ मत प्राप्त गर्दा भण्डारीले १ हजार ५८० मत पाएका थिए । सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह पनि त्यसबेला प्रतिस्पर्धामा थिए ।
अहिलेको मतगणनामा भने अघिल्लो महाधिवेशनका विजेता गुरुङ भण्डारीभन्दा निकै पछाडि देखिएका छन् । सात उम्मेदवार प्रतिस्पर्धामा रहेको खुला समूहका दुई उपसभापति पदमध्ये एउटा पदमा भण्डारीको सम्भावना बलियो बनेको छ ।
भण्डारीको यसपटकको राजनीतिक यात्रामा पार्टीभित्रको समीकरण परिवर्तन पनि जोडिएको छ । अघिल्लो महाधिवेशनमा शेखर कोइराला समूहमा रहेका उनी विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको समूहसँग जोडिएका हुन् ।
गगन थापा सभापतिमा निर्वाचित भएपछि भण्डारीले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । उनले थापाको नेतृत्वलाई पार्टीका कार्यकर्ताको चाहना र समयको मागसँग जोड्दै सफलताको शुभकामना व्यक्त गरेका छन् ।
भण्डारीले त्रिचन्द्र क्याम्पसमा आफू विद्यार्थी सङ्गठनमा रहँदा रोपेको बिरुवाको प्रसंग उल्लेख गर्दै आफ्नो राजनीतिक यात्रालाई कांग्रेसको वर्तमान नेतृत्वसँग जोडेका छन् । विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा पार्टीको नेतृत्व तहसम्म आइपुग्नुलाई उनले प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन् ।
संसद्मा हार, पार्टी राजनीतिमा नयाँ अवसर
भण्डारीको राजनीतिक यात्रामा निर्वाचनका परिणाम पनि सधैँ अनुकूल रहेनन् । उनी २०७० सालमा गुल्मी–२ बाट निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी–१ बाट विजयी भए पनि २०८२ सालको निर्वाचनमा त्यही क्षेत्रबाट पराजित भए ।
संसदीय निर्वाचनमा पराजय भोगेको अवस्थामा पार्टीको आन्तरिक प्रतिस्पर्धामा बलियो अग्रता बनाउनु उनका लागि नयाँ अवसरका रूपमा देखिएको छ । व्यक्तिगत जीवनको गम्भीर दुर्घटना, महाधिवेशनको हार र संसदीय पराजयपछि पनि उनी पार्टी राजनीतिमा सक्रिय रहे ।
अब मतगणनाको अन्तिम परिणामले उनको राजनीतिक यात्राको अर्को अध्याय निर्धारण गर्नेछ । अग्रता कायम रहे भण्डारीका लागि कांग्रेसको उपसभापति पद व्यक्तिगत पुनरागमन मात्र नभई पार्टीको नयाँ नेतृत्व संरचनामा स्थापित हुने अवसर पनि बन्नेछ ।
.gif)

.png)


