विपद्मा आदेश पर्खेर नबस्न सशस्त्र प्रहरीलाई आईजी पौडेलको निर्देशन

परिस्थितिको गम्भीरता बुझेर तत्काल परिचालन हुनुपर्नेमा जोड


२०८३ भदौ ७ आइतबार ०८:५२ बजे

हेटौंडा : सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला माथिल्लो तहको आदेश कुरेर बस्नेभन्दा परिस्थितिको गम्भीरता बुझेर तत्काल परिचालन हुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सवका अवसरमा साउन ६ गते आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा तदारुकता र तत्काल निर्णय गर्ने क्षमता आवश्यक रहेको बताए।

उनले विपद्को अवस्थामा आफ्नो जिम्मेवारी पहिचान गरी आवश्यकताअनुसार तत्काल परिचालित हुन निर्देशन दिएका हुन्। विपद् व्यवस्थापन कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले प्रदेश तथा स्थानीय सरकारसँग प्रभावकारी समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए।

पौडेलले विपद् व्यवस्थापनसँगै राजमार्ग सुरक्षा, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण तथा आन्तरिक सुरक्षाका विभिन्न घटनामा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। कार्यक्षेत्रमा खटिने कर्मचारीले अझ व्यावसायिक, इमानदार, नैतिकवान र कर्तव्यनिष्ठ हुँदै परिस्थितिअनुसार तत्काल निर्णय लिन सक्ने क्षमता विकास गर्नुपर्ने उनको भनाइ थियो।

पछिल्लो समय देशका विभिन्न स्थानमा जातीय, धार्मिक तथा साम्प्रदायिक विवादका घटना बढ्दा सुरक्षा चुनौती थपिएको उल्लेख गर्दै उनले यस्ता परिस्थितिमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीलाई मानवअधिकारको पूर्ण पालना गर्न निर्देशन दिए। बल प्रयोग गर्नुपर्ने अवस्था आएमा कानुनी दायराभित्र रही न्यायोचित ढंगले मात्र बल प्रयोग गर्नुपर्ने उनले बताए।

सुरक्षा परिचालन तथा कारबाहीका क्रममा संगठनको व्यावसायिकतामाथि प्रश्न उठ्ने अवस्था आउन नदिनसमेत पौडेलले मातहतका कमाण्डरलाई सचेत गराए। उनले व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा संगठनको हितलाई प्राथमिकतामा राखेर नेतृत्वसँग सहकार्य गर्न कर्मचारीलाई आग्रह गरे। ‘म होइन, हामी’ भन्ने भावनाका साथ जिम्मेवारी पूरा गरेमा संगठनको विकाससँगै वृत्तिविकासका अवसरसमेत सिर्जना हुने उनको भनाइ थियो।

सीमा सुरक्षालाई प्रभावकारी बनाउन सीमावासीसँगको सम्बन्धलाई पनि उनले महत्वपूर्ण पक्षका रूपमा अघि सारे। सीमावासीको विश्वास, सहयोग र सहभागितालाई सीमा सुरक्षा तथा व्यवस्थापनमा जोड्नुपर्ने भन्दै उनले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई थप प्रभावकारी बनाउन निर्देशन दिए।

विपद्मा परेका नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरीलाई भरोसायोग्य संगठनका रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै महानिरीक्षक पौडेलले कमाण्डरहरूले दण्ड र पुरस्कारको नीति कडाइका साथ कार्यान्वयन गरी कर्मचारीलाई जिम्मेवारीअनुसार परिचालन गर्नुपर्ने बताए।

वार्षिकोत्सवका अवसरमा वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टिम र बाहिनीलाई सहयोग गर्ने संघसंस्था तथा व्यक्तिलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७